व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा समय माग गरी एमालेका रवीन्द्र अधिकारीले तराईमा मोर्चाका नाममा एमालेका नेता–कार्यकर्ताका घरमा तोडफोड र आक्रमण हुँदासमेत सरकार लाचार देखिएको भन्दै आक्रोश व्यक्त गरे ।
शान्तिपूर्वक हिँडडुल र कार्यक्रम गर्न नपाइने कस्तो प्रजातन्त्र हो भनी उनले प्रश्न गरे ।
यस्तो सुरक्षा व्यवस्थाले निर्वाचनको सुनिश्चितता हुन नसक्ने जनाउँदै उनले ‘सरकारको उदासीनताले पराकाष्ठा नाघेको छ’–भने ।
सांसद अधिकारीले सुरक्षा व्यवस्था सुनिश्चितता गर्न सरकारबाट स्पस्ट जवाफ नआएसम्म संसद बैठक अघि बढ्न नसक्ने चेतावनी दिएपछि सभामुख ओनसरी घर्तीले त्यसप्रति संसदको गम्भीर ध्यानाकर्षण भएको र त्यस सन्दर्भमा यथाशीघ्र जानकारी गराउन सरकारलाई निर्देशन दिने बताएकी थिइन् ।
एमाले सांसदले आसनग्रहण गरेपछि बैठक सन्चालन भएको थियो ।
बैठकमा नेमकिपाका प्रेम सुवालले संविधान संशोधन गर्दा भूगोललाई बेवास्ता गर्न नमिल्ने बताउँदै निर्वाचकमन्डलबाट स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख हटाउने प्रस्तावप्रति आपत्ति जनाए ।
उनले तत्काल संविधान संशोधनको आवश्यकता नरहेको धारणा राख्दै ‘नागरिकता बसको टिकटजस्तो गरी दिनुहुँदैन’–भने । रासस





प्रतिक्रिया दिनुहोस्