बुधबार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भवानी राणालाई पद तथा गोपनीयताको शपथ गराउँदै पद हस्तान्तरण गरे ।
यस्तै, अध्यक्ष राणाले नवनिर्वाचित पदाधिकारी एवं कार्यकारी सदस्यहरुलाई शपथग्रहण गराइन् ।
महासंघले ५० वर्षको इतिहासमा पहिलोपटक महिला अध्यक्ष पाएको हो ।
महासंघले हालै विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरेपछि राणा अध्यक्ष बनेकी हुन् । यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिइन् ।
पदभार ग्रहण कार्यक्रममा अध्यक्ष राणाले आर्थिक समृद्धिका लागि सरकारसँगको सम्बन्धलाई सशक्त बनाउने बताइन् ।
उनले युवा जनशक्ति उत्पादनका लागि सातओटा प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने घोषणा गरिन् ।
यस्तै, विज्ञ समूह बनाउने, सार्वजनिक–निजी साझेदारीमा पूर्वाधार विकास, स्वदेशी वस्तुको प्रयोग बढाउने, सरकारसँगको सहकार्यमा ७ प्रदेशमा स्मार्टसिटी बनाउनेलगायतका आफ्नो योजना रहेको उनले बताइन् ।
महासंघको मंगलबार सम्पन्न ५१औं वार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित गरेको थियो । ढकाल सर्वसम्मतरुपमा चयन भएका हुन् ।









प्रतिक्रिया दिनुहोस्