
जिल्लामा प्रमुख राजनीतिक दलका नेताले चैतको २५ देखि २८ गतेसम्ममा उम्मेदवार तय गरिसक्ने बताएका थिए । तर, चैतको मसान्तसम्म पनि उनीहरुले कुनैपनि स्थानीय तहमा उम्मेदवार तय गर्न सकेका छैनन् ।
नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष शंकर कँडेल अहिले प्रक्रिया चलिरहेको जानकारी दिन्छन् । महानगरको हकमा सर्वसम्मत् हुन नसकेमा केन्द्रले तय गर्ने उनी बताउँछन् ।
उम्मेदवारको चाहना बुझ्ने काम भइरहेको भन्दै कँडेलले भने–‘खैरहनी, कालिका र राप्ती नगरपालिकाका केही वडाको सर्वसम्मत् उम्मेदवार छनोट भएका छन्, ३ गते क्षेत्रले टुंग्याएर ७ गते जिल्लाले सिफारिस गर्छ ।’
कांग्रेसमा प्रमुख र उपप्रमुखमा आकांक्षी धेरै भएकाले समस्या परेको स्रोतको भनाइ छ । कांग्रेसमा यसअघि भरतपुर महानगरको प्रमुखमामात्रै २२ जनाको नामावली आएको थियो ।
नेकपा एमालेमा पनि त्यस्तै सकस छ । हालका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले चैत २८ सम्ममा उम्मेदवार छनोट टुंग्याउने बताएपनि एमालेले आजसम्म कुनै क्षेत्रमा पनि टुंग्याउन सकेको छैन ।
सो दलका जिल्लासचिव तेजेन्द्र खड्का गाउँ र नगरका वडाबाट सिफारिस आएपनि निर्णय हुन बाँकी रहेको तर नगर प्रमुख र उपप्रमुखमा भने वैशाख ७ गतेभित्र टुंग्याउने बताउँछन् ।
नेकपा माओवादी केन्द्रमा पनि चुनावी माहोल तातेपनि उम्मेदवार छान्न आकांक्षी बढेकाले सकस नै भएको छ । चैत २५ र २६ मा सक्ने सार्वजनिक गरे पनि अहिलेसम्म टुंगो लाग्न नसकेको छैन ।
जिल्ला नेता घनश्याम दाहाल ‘अविनाश’ वैशाख ३ गते वडा तहको टुंग्याउने गरी काम भइरहेको उल्लेख गर्छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीलेसमेत आफ्नो उम्मेदवार छान्ने प्रक्रिया तीव्र पारेको छ । जिल्ला अध्यक्ष बद्री तिमिल्सिना अहिले उम्मेदवार छनोट प्रक्रिया करिब अन्तिम चरणमा पुर्याएको बताउँछन् ।
तर, वडाकोसमेत कुनै निर्णय उसले पनि गर्न सकेको छैन । भरतपुर महानगरको प्रमुखमा भने अहिलेसम्म आफ्नोमात्रै नाम परेको र अरू कोही आकांक्षी नरहेको तिमिल्सिना बताउँछन् ।
जिल्लामा अहिले भरतपुर महानगरपालिकासहित रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका छन् भने इच्छाकामना गाउँपालिका छन् ।
सात स्थानीय तहमा सात प्रमुख र सातजना उपप्रमुख, ९८ वडामा ९८ वडाध्यक्ष तथा सदस्य तीन सय ९२ गरी पाँच सय चार निर्वाचित हुन्छन् । रासस
प्रतिक्रिया दिनुहोस्