२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


त्रिपुरा सुन्दरी नगरपालिकामा काँग्रेस र एमालेबाट उम्मेदवार तय


0
Shares

गत बुधबार त्रिपुरा सुन्दरी नगरपालिकास्थित वडा नं ५ खदाङमा पार्टी सभापति अङ्गतकुमार बुढाको अध्यक्षतामा भएको जिल्ला कार्यसमिति तथा स्थानीय नेताहरुसँगको छलफलबाट एक्लो उम्मेदवारका रुपमा दिलबहादुर विष्टको नाम प्रस्ताव गरिएको हो ।

यस नगरपालिकाको नगर प्रमुखका रुपमा छलफल नहुँदै पनि विष्टको नाम उम्मेदवारका रुपमा चर्चामा ल्याइएको थियो ।

उक्त छलफलमा नगरपालिकाको उपप्रमुखको उम्मेदवारबारे भने छलफल नभएको पार्टी सभापति बुढाले जानकारी दिए।

आउँदो वैशाख पहिलो साताभित्रै काँग्रेसले जिल्लाका सम्पूर्ण स्थानीय निकायको प्रमुख तथा उपप्रमुखको नाम प्रस्ताव गरिसक्ने बुढाले बताए ।

उम्मेदवार विष्ट पूर्व पार्टी जिल्ला सभापति तथा पूर्व महासमिति सदस्यसमेत छन् ।

एमालेबाट नाम सिफारिस

एमाले नगर कमिटी, त्रिपुराकोटले त्रिपुरा सुन्दरी नगरपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नगर प्रमुखमा ओमबहादुर बुढा र विमाकर पहाडीको नाम सिफारिस गरी जिल्ला कमिटी पठाइएको छ ।

कमिटीका सहसंयोजक विश्वचन्द्र डसालले छलफलमा सहमति कायम गरेर दुईजनाको नाम सिफारिस गरेको जानकारी दिए ।

महिलातर्फ उपप्रमुखको एक्लो उम्मेदवारका रुपमा चन्द्राकुमारी बुढाको नाम सिफारिस गरिएको छ ।

नगर प्रमुखको सिफारिसमा परेका बुढाले २०६४ को संसदीय चुनावमा चुनाव लडेका थिए र उनी पूर्व जिविस सभापतिसमेत छन् ।

नगर प्रमुखमै सिफारिस भएका अर्का उम्मेदवार पहाडी भने युवा नेताका रुपमा परिचित छन्। रासस