
निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरु आमसभा, कोणसभा, सन्चारमाध्यमबाट प्रचार–प्रसार तथा घरदैलोजस्ता कार्यक्रम गरी मतदातालाई आफनो पक्षमा आकर्षित गर्न थालेपनि आजका दिनसम्म प्रमुख राजनीतिक दलहरुले उमेदवारको टुंगो लगाउन सकेका छैनन् ।
चार निर्वाचन क्षेत्र भएको कास्कीमा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले दुई/दुई सिट जितेका थिए भने २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रले तीन र एमालेले एक सिट जितेको थिए ।
त्यस्तै, २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले साविकको पोखरा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख, जिल्ला विकास समितिको सभापति, उप–सभापतिलगायत बहुमत गाविसका अध्यक्ष,उपाध्यक्ष तथा वडाध्यक्ष र वडासदस्य जितेको थियो ।
२०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसले त्यसरी नै बहुमत हासिल गरेको थियो ।
सबै दल योग्य उम्मेदवार छान्नमै व्यस्त भएको देखिन्छ । नेकपा एमालेले चार गाउँपालिकामा उम्मेदवार छान्न एक/एकजना संयोजक तोकेको छ ।
संयोजकले दिएको सिफारिसका आधारमा उम्मेदवारको टुंगो लगाइने प्रचार–प्रसार विभागका संयोजक तेजनारायण अधिकारीले जानकारी दिए ।
नेपाली कांग्रेसले पनि वैशाख २ वा ३ गतेभित्र उम्मेदवारको टुंगो लगाउने पार्टीका जिल्ला अध्यक्ष कृष्ण केसी बताउँछन् ।
पार्टी आमसभा र कोणसभामा लागेको र यी कार्यक्रम सकेपछि उम्मेदवार टुंगो लगाउनेतिर पार्टी लाग्ने उनको विचार छ ।
यतिबेला केहीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्ने भन्दै पत्रकार सम्मेलन गरेको पाइन्छ ।
नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, युवा नेता नन्दप्रसाद तिवारी, ऋृषि काफ्ले, एमालेका राजीव पहारी, कृष्ण थापाले प्रमुख पदमा दाबी गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा महिलातर्फ एमालेका प्रभा कोइराला, देवका पहारी, मीना गुरुङ, कांग्रेसबाट कोपिला रानाभाट, सरस्वती गुरुङ, नेकपा माओवादी केन्द्रबाट गोमा ढकाल, निर्मला न्यौपाने र कन्चन खनालको चर्चा चलेको छ । रासस
प्रतिक्रिया दिनुहोस्