Logo २ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026


दुगड समूहले १५७ मेगावाटका तीनओटा जलविद्युत् आयोजना निर्माण थाल्यो


0
Shares

नेपालको व्यावसायिक घराना एमभी दुगड समूहले स्वदेशी पुँजी परिचालन गरेर १५७ मेगावाट क्षमताका तीनओटा जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ ।

एकैपटक १५७ मेगावाटको तीन ठूला आयोजना निर्माण सुरु गर्ने एमभी दुगड समूह पहिलो व्यावसायिक घरानाकोरुपमा स्थापित भएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्तरुपमा आयोजनाको शिलालेख अनावरण गरे ।

निर्माण सुरु भएको घोषणा गर्दै ऊर्जामन्त्री शर्माले सरकारको योजनाअनुसार नै औद्योगिक घराना जलविद्युत् आयोजना निर्माणमा लाग्दा सकारात्मक सन्देश फैलिएको बताए ।

निजी क्षेत्रले उठाउँदै आएको समस्या समाधान गर्न सरकारले केही नीतिगत सुधार गरेको र केही सुधारकोक्रममा रहेको मन्त्री शर्माले बताए ।

ऊर्जासचिव उपाध्यायले निजी क्षेत्रलाई साथमा लिएर जाने सरकारको लक्ष्यअनुसार काम भइरहेको र ऊर्जा क्षेत्रमा केही वर्षमा नसोचेको प्रगति हासिल हुने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपाल र नेपालीको आर्थिक समृद्धिको आधार नै जलविद्युत् क्षेत्र भएकाले प्राधिकरण निजी क्षेत्रसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताए ।

समूहले विभिन्न सहायक कम्पनीमार्फत् लिखु खोलामा तीनओटा आयोजना सुरु गरेको हो ।

समूहले ७७ मेगावाट क्षमताको लिखु–१ आयोजना पान हिमालय इनर्जी, ५१ मेगावाटको लिखु–२ आयोजना ग्लोबल हाइड्रोपावर एसोसियट्स र २९ मेगावाट क्षमताको लिखु ‘ए’ आयोजना नुम्बुर हिमालय हाइड्रोपावर प्रालिमार्फत् निर्माण सुरु गरेको हो ।

राजधानीमा आयोजित एक कार्यक्रममा तीनओटै आयोजनाको निर्माण सुरु भएको घोषणा गरिएको हो ।

ती आयोजना सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष मोतिलाल दुगडले जानकारी दिए ।

तीनओटा आयोजना निर्माण सम्पन्न गर्न कुल रु २१ अर्ब लाग्ने अनुमान गरिएको अध्यक्ष दुगडको भनाइ छ ।

अध्यक्ष दुगडकाअनुसार ७७ मेगावाटको लिखु–१ मा प्राइम कमर्सियल बैंकको अगुवाइमा एनआइसी एसिया बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, जनता बैंक, प्रभु बैंक र मेगा बैंकले कर्जा लगानी सम्झौता गरेका छन् ।

यस्तै, ५१ मेगावाटको लिखु–२ मा माछापुच्छ्रे बैंकको अगुवाइमा मेगा बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेस्ट बैंक र भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको ऋण लगानी छ ।

२९ मेगावाटको लिखु ‘ए’ मा लक्ष्मी बैंकको अगुवाइमा सिद्धार्थ बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमान्डु लुम्बिनी बैंकले संयुक्त लगानी गरेका छन् ।

ती आयोजनाबाट उत्पादन हुने बिजुली खरिद–बिक्रीका लागि प्राधिकरणसँग सम्झौता भइसकेको छ ।

सरकारको १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न औद्योगिक समूहको तर्फबाट तीन ठूला आयोजनामा लगानी गरिएको दुगडले बताए ।

अन्य नयाँ आयोजना बनाउन विदेशी साझेदार ल्याउने विषयमा छलफल सुरु गरेको उनको भनाइ छ ।