अघिल्लो वर्ष भूकम्प र भारतीय नाकाबन्दीले थिलथिलो बनाइदिएको अर्थतन्त्रमा यो वर्ष सुधारको संकेत देखियोे ।
संवैधानिक प्रावधानअनुसार वर्षको सुरु जेठ १५ मै अग्रिम बजेट आयो । अघिल्लो वर्षजस्तो यो वर्ष सर्वसाधारणले ग्यास, पेट्रोललगायत पेट्रोलियम पदार्थको अभाव खेप्नुपरेन ।
यो वर्षको सबैभन्दा ठूलो उपलब्धि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भाग लोडसेडिङमुक्त रहे ।
विद्युत् प्राधिकरणमा प्रबन्ध निर्देशक कुलमान घिसिङ नियुक्त भएसँगै यो वर्ष नेपालीले तिहारमासमेत २४ सै घन्टा बिजुली बाल्न पाए । यसले आमसर्वसाधारणलाई त सुविधा पुर्यायो नै साना व्यापार–व्यवसायीदेखि ठूला उद्योगीलाईसमेत राहत पुग्यो ।
अर्थतन्त्रमा सुधार आउनुमासमेत उर्जासंकट समाधानले महत्वपूर्ण भूमिका खेलेको विश्लेषण गरियो ।
लगानी प्रवद्र्धन गर्न भन्दै सरकारले आयोजना गरेको लगानी सम्मेलन सफल रह्यो । सरकारी अपेक्षाभन्दा धेरै झन्डै १३ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भयो ।
मुलुकले यो वर्ष बन्द, हड्तालजस्ता गतिविधिबाट मुक्ति नै पाएकोझैं भयो । यसले पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्दै गयो ।
नेपाल वायुसेवा निगमले एअरबस खरिद सम्झौता यसै वर्ष सम्पन्न गर्यो ।
अघिल्लो वर्ष १ प्रतिशत तल पुगेको आर्थिक वृद्धि यो वर्ष सरकारी प्रक्षेपणअनुसारै ६ प्रतिशत हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।
आर्थिक वृद्धि प्रक्षेपित मार्गमा र मुद्रास्फीति प्रक्षेपितभन्दा न्यून रहि समष्टिगत आर्थिक परिदृष्य सकारात्मक रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।
तथापि, पछिल्ला केही महिना बैंक तथा वित्तीय संस्थाहरुले तरलताको क्षणिक असहजता व्यहोर्नुपर्यो ।
कृषिमा अपेक्षा गरिएभन्दा वृद्धि, ऊर्जा आपूर्तिमा सुधार र निर्माण तथा पुनःनिर्माणकार्यले लिएको गतिका कारण आशाजनक आर्थिक वृद्धिको परिदृष्य देखिएको केन्द्रीय बैंकले जनाएको छ ।
मूल्यवृद्धि प्रक्षेपित वार्षिक लक्ष्य ७.५ प्रतिशतभन्दा कम हुने देखिएको छ । यसले सर्वसाधारणलाई राहत पुग्ने देखिन्छ ।
समयै बजेट आएपनि कार्यान्वयन शैली फेरिन नसक्दा पुँजीगत खर्च परिचालन भने निराशाजक नै रहन पुग्यो ।
वर्षको अन्त्यतिर भएको चुनावी घोषणाले खर्च परिचालन बढी अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।
एनसेल लाभकर विवादले वर्षैभर चर्चा पायो । बहुप्रतिक्षित मेलम्ची खानेपानी परियोजनाले केही गति लियो भने विद्युत् प्रसारणलाइन र जलविद्युत् आयोजनाहरुको निर्माणमा केही सुधारका संकेत देखिए ।
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले वर्षको अन्त्यमा पहिलोपटक महिला उद्यमी भवानी राणाको नेतृत्व पायो ।
पुँजीबजार उतार–चढावबीच सकारात्मक रह्यो । धितोपत्र बजार आधुनिकीकरणमा पनि थुप्रै सुधार भए ।
वर्षको सुरुआतमा १४ सयनजिक रहेको नेप्से वर्षको अन्त्यमा १७ सय विन्दूमा पुगेको छ ।
समग्रमा वर्ष २०७३ आर्थिकरुपमा नेपाल र नेपालीका लागि सकारात्मक नै रहन पुगेको देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्