
भेनेजुएला, फागुन १० । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले ब्राजिलसँगको सीमा नाका बन्द गर्ने घोषणा गरेका छन् ।
अमेरिकालगायतका देशबाट मानवीय सहायताका सामग्री भित्रिन नदिन राष्ट्रपति मदुरोले ब्राजिलसँगको सीमा नाका बन्द गर्ने घोषणा गरेका हुन् । राष्ट्रपति मदुरोले टेलिभिजनमार्फत् सम्बोधन गर्दै कोलम्बियासँगको सीमा पनि बन्द गर्नेबारे पनि छलफल भइरहेको बताए ।
आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता हुँवा गुइदोको आग्रहमा अमेरिकाले भेनेजुएलाका लागि विभिन्न मानवीय सहायता बोकेका सामान सीमावर्ती कोलम्बियन शहर कुकुतासम्म पठाएको छ । तर भेनेजुएलाका राष्ट्रपति मदुरोको समर्थनमा रहेको सेनाले ती सामग्री प्रवेश गर्न दिएको छैन ।
विपक्षी नेता गुइदोले देशमा मानवीय सहायताको खाँचो रहेको बताए पनि राष्ट्रपति मदुरोले भने त्यस्तो कुनै पनि किसिमको समस्या नरहेको दाबी गर्दै त्यस्ता सामग्री भित्रिन नदिने बताए ।
राष्ट्रपति मदुरोले अमेरिका सहायता सामग्री भित्र्याउने नाममा आफ्नो देशमा सैन्य हस्तक्षेप गर्ने ध्यानमा रहेको आरोप लगाउँदै आएका छन् । मदुरो सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । तर विपक्षी नेता गुएडोले भने कुकुता आइपुगेका सहायता सामग्री स्वयंसेवकको सहयोगमा भित्र्याउने बताउँदै आएका छन् ।
यही विवादका कारण मदुरोले कोलम्बिया तथा ब्राजिलसँगको सीमा बन्द गर्ने बताएका हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्