२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


विद्यालयलाई ७० लाख सहयोग गर्ने डा. जोशीलाई धनगढीमा अभिनन्दन


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, फागुन ९ । विद्यालयलाई ७० लाख रुपैयाँ सहयोग गर्ने डा. तुलसीराम जोशीलाई धनगढीमा अभिनन्दन गरिएको छ ।

धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बिहीबार २७औं वार्षिकोत्सवका अवसरमा उनलाई अभिनन्दन गरेको हो ।

वि.सं. १९९५ मा बझाङको तामाखानीमा जन्मेका जोशीले शैक्षिक विकासका लागि उक्त विद्यालयलाई ७० लाख रुपैयाँ सहयोग गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दोसल्ला ओढाएर डा. जोशीलाई अभिनन्दनपत्र हस्तान्तरण गरेका हुन् ।

जोशीले सहयोग गरेको रकमले डा. तुलसीराम जोशी अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ ।

उनले विद्यालयलाई सहयोग गरेपछि विद्यालयको नाम परिवर्तन गरेर राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय राखिएको छ ।

मुख्यमन्त्री भट्टले जोशीले प्रवासमा बसेर मुलुकको शिक्षाका लागि पुर्‍याएको योगदानको कदर गरिएको बताए ।

अभिनन्दित व्यक्तित्व डा. जोशीले जन्मभूमिको माया लागेर विगत ३० वर्षदेखि मुलुकका विभिन्न विद्यालयलाई सहयोग गर्दै आएको बताए ।

अमेरिकामा दुःख–कस्ट गरेर कमाएको पैसाले मातृभूमिको सेवा गरिरहेको बताउँदै उनले मातृभूमिको सेवा नै सबैभन्दा ठूलो भएको उल्लेख गरे ।

८० वर्षीय डा. जोशी हाल अमेरिकास्थित पश्चिम भर्जिनियाको फेयरमाउन्टमा बस्दै आएका छन् ।

अमेरिकी नागरिकसित विवाह गरेका उनका दुई छोरी छन् । अभिनन्द कार्यक्रमका लागि जोशी परिवारसहित धनगढी आएका छन् ।