
नवीन शर्मा र भरत केसी (इमेज)
कुरिनटार, फागुन ९ । जुनसुकै प्राकृतिक विपत्तिमा तत्काल उद्धार गर्नु पहिलो काम हो ।
नेपालमा बेला–बखत हुने प्राकृतिक विपद्का बेला तत्काल उद्धारकार्य हुन नसक्दा मानवीय क्षति हुने गरेको छ ।
प्राकृतिक विपत्तिमा मानवीय क्षति कम गर्ने उद्देश्यले सशस्त्र प्रहरीले तालिम नै सुरु गरेको छ ।
नेपालमा बाढी, पहिरो, भूकम्प, चट्याङ, आगलागी, शीतलहर, हिमताल विस्फोट र हिमपहिरोजस्ता प्राकृतिक विपत्तिको जोखिम सधैं रहने गर्दछ ।
वर्षेनि कुनै न कुनै विपत्ति भोग्नुपर्ने बाध्यता नेपालीहरुको रहेको छ । यस्ता विपत्तिहरुबाट जनधनको ठूलो क्षति पनि हुने गरेको छ ।
सशस्त्र प्रहरी बलले प्राकृतिक विपद्मा तत्काल उद्धार गर्ने जनशक्ति तयार पार्नका लागि अभ्यास कार्यक्रम सन्चालन गरेको छ ।
सशस्त्र प्रहरी बलले नेपाल व्यवस्थापन तालिम शिक्षालयमार्फत् आफ्ना दुई हजार जनशक्तिलाई विशेष तालिम दिन सुरु गरेको हो ।
देशका विभिन्न स्थानमा विपद् व्यवस्थापनमा कार्य गर्नेगरी जनशक्ति तयार पार्न लागिएको हो ।
चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बलको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयका वरिष्ठ नायब उपरीक्षक किशोर प्रधानले समुदायमा आधारित ‘डिजास्टर मेनेजमेन्ट’ तालिमको कामलाई पनि सँगसँगै अघि बढाइने बताए ।
३७ हजार फौज रहेको सशस्त्र प्रहरीले दुई हजारजनालाई विपद् व्यवस्थापनको तालिम दिन थालेको हो ।
सशस्त्र प्रहरीले सो कामका लागि थप जनशक्ति र स्रोत–साधनको आवश्यकता पर्ने पनि जनाएको छ ।
सशस्त्र प्रहरीले केही कुकुरहरुलाई विपद् व्यवस्थापनमा प्रयोग गर्ने उद्देश्यले यही स्थानमा तालिम दिने जमर्को गरेको छ । पहिलो चरणमा चारओटा कुकुरलाई तालिम दिन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्