
जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले आइतबार वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुनेगरी फैसला भएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
चालक रहेका तत्कालीन सेनानी निरञ्जन बस्नेतलाई भने आदेशमात्रै पालन गरेको भन्दै अदालतले सफाइ दिएको छ ।
काभ्रेपलाञ्चोकको खरेलथोकस्थित भगवती माध्यमिक विद्यालयको ९ कक्षामा अध्ययनरत् १५ वर्षीया मैना सुनुवारलाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेको चार दिनपछि २०६० फागुन ५ गते सैनिक ब्यारेकमा चरम यातना दिएर हत्या गरेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीको लामो दबाबमा दुई वर्ष आठ महिनापछि उत्खनन् गर्दा कंकाल भेटिएको थियो ।
सुनुवारको हत्याको आरोपमा वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन, सुनिल अधिकारी र सेनानी निरञ्जन बस्नेतलाई विपक्षी बनाइ वि.सं. २०६४ माघ ७ गते अभियोग दर्ता भएको थियो । तर, २०७० असोज १ गतेदेखि मुद्दा मुल्तबीमा राखिएको थियो ।
तर, सुनुवारकी आमाले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा निवेदन दिएपछि मुद्दा फेरि जागेको थियो ।
तत्कालीन महासेनानी खत्री काठमाडौंका, सहसेनानी पुन रुपन्देहीका, सहसेनानी अधिकारी दोलखाका हुन् ।
फैसलापछि मैनाकी आमा देवीले राससलाई संक्षिप्त प्रतिक्रिया दिँदै फैसला कार्यान्वन हुनुपर्ने उल्लेख गर्दै पीडकलाई तत्काल कारबाहीको माग गरिन् ।
नेपाली सेनाले सैनिक अदालतमार्फत् कारबाही भएको जिकिर गर्दै आएको छ भने प्रहरीले पनि सेनाविरुद्धको जाहेरी दर्ता अस्वीकार गरे पनि सर्वोच्च अदालतको आदेशपछिमात्रै मुद्दा दर्ता भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्