२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


सोलुखुम्बु जिल्लाभरमा प्रमुख पद दाबी गर्ने यी हुन् एक्ली महिला


0
Shares

स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा एक महिला अनिवार्य गरिएको भएपनि नेपाली कांग्रेसकी सरला नाछिरिङ प्रमुख पद दाबी गर्ने महिला बनेकी छन् ।

तथापि, सोताङ गाउँपालिकाबाट प्रमुखको दाबी गर्ने उनलाई पनि प्रमुख पदको उम्मेदवार बनाउने/नबनाउने टुंगो छैन ।

सो क्षेत्रमा कांग्रेसका पुरुष दाबेदारहरु सशक्त भएकाले उनको पनि उम्मेदवार बन्ने सम्भावना कम रहेको बताइन्छ ।

महिलालाई प्रमुख पदमै उम्मेदवार बनाउने इच्छा पार्टीको भएपनि दाबी नै नआउँदा समस्या भएको नेकपा एमाले, सोलुखुम्बुका अध्यक्ष मानवीर राई बताउँछन् ।

उनी भन्छन्–‘गाउँ कमिटीबाटै सिफारिस भएर आउनुपर्छ । गाउँमै दाबी गर्ने छैनन् । अझैपनि महिला उम्मेदवार खोज्ने पहल भइरहेको छ । तर, प्रमुखजस्तो पद दाबी नभइ खोजेर राख्न पनि मिल्दैन ।’

एमालेजस्तै माओवादी केन्द्रमा पनि प्रमुख पदमा दाबी नै नभएको बताइन्छ ।

माओवादी केन्द्र सोलुखुम्बुका संयोजक सुरवीर राई भन्छन्–‘नेत्री नै नभएको हैन तर प्रमुख पदमा दाबी नै आएको छैन । सायद अन्य दलबाट पुरुष उम्मेदवार भएकाले प्रतिस्पर्धा गर्न नसकिने भनेर होला । एउटै स्थानीय तहमा पाँच/सातजनासम्म पुरुषको दाबी आउँछ तर महिलाको दाबी नै उपप्रमुखमामात्र आउँछ ।’

कांग्रेसमा पनि हालसम्म दाबी एकजनाकोमात्र आएको कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत बताउँछन् ।

उनी भन्छन्–‘हालसम्म प्रमुखमा सरलाजीकोमात्र दाबी आएको छ, उहाँको पक्षमा दल गम्भीर छ । तथापि अन्य दलको उम्मेदवारअनुसार आफूहरुले पनि अघि सार्नुपर्ने भएकाले प्रतिस्पर्धा गर्नसक्ने नै अघि सार्नुपर्ने बाध्यता छ ।’

जिल्लाका आठओटा स्थानीय तहको प्रमुख पदमा महिलाको दाबी नै नआउनु यसअघि दलहरुले महिलालाई दलको कार्यकारी पदमा नराखेका कारण उनीहरुको क्षमता विकास नभएको र पुरुषसँग प्रतिस्पर्धा गर्न डराएको कांग्रेसकी नेत्री टंकीमाया बस्नेत बताउँछिन् ।

एमालेकी नेत्री कल्पना राई भने दलले नै महिलाको नाम उपप्रमुखमामात्र चर्चा गरेका कारण आखिर प्रमुख पदमा टिकट दिँदैनन् भन्ने यकिन भएरै दाबी नभएको बताउँछिन् ।

प्रमुख पदमा दाबी नै आएको छैन भने उपप्रमुखमा पनि दलकै महिला नेत्री नभेटेर दलहरुले शिक्षिका तथा विभिन्न संघ–संस्थामा जागिर खाइरहेकालाई अघि सारिरहेका छन् । रासस