
-अनिल तिवारी/ ईमेज
उनीहरु नेताहरु कहिले गाउँमा चुनाव कार्यक्रम लिएर आउँलान् भन्ने कुराईमा छन् । पर्साका स्थानीय जनता आसन्न निर्वाचन तोकिएकै मितिमा गर्नुपर्ने बताउँछन् ।
पर्साका बासिन्दा मधेसका लागि राजनीति गरिरहेका भन्ने नेताहरुले नै निर्वाचन गर्न नदिने भन्दै आन्दोलन घोषणा गरेपछि अन्यौलमा देखिएका हुन् ।
दलीय स्वार्थकै कारण निर्वाचनमा भाग लिने र आफ्ना जनप्रतिनिधि आफै चुन्ने सार्वभौम र नैसर्गिक अधिकार नखोस्न आग्रह गर्दै उनीहरु भन्छन्, तोकिएकै मितिमा निर्वाचन गर्नै पर्दछ ।
डेढ दशकसम्म मताधिकार प्रयोग गर्न नपाएको मात्र होइन विकास निर्माणको जिम्मा कर्मचारीतन्त्रलाई छाड्दा कस्ता विकृति ब्यहोर्नु पर्यो र कसरी राज्यको ढुकुटीको दुरुपयोग गरियो भन्ने भुक्तभोगी उनीहरु विकासका लागि चुनावको विकल्प छैन भन्छन् ।
चुनावको बिरोधमा मधेसी मोर्चाले कार्यक्रमहरु घोषणा गरेपनि चुनावकै लागि मधेसी दलहरुमा पार्टी प्रवेशको लहर पनि उत्तिकै देखिन्छ ।
विगतमा अन्तिम चरणमा चुनाव हुने भएको दृष्टान्त रहेकाले चुनावको आन्तरिक तयारी पनि सँगै भइरहेको एक महिना अगाडि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका उद्योगपति विजय सरावगी बताउँछन् ।
उनीहरु मधेसी दलले उठाएका जायज मागलाई समेटेर चुनाव गर्नैपर्ने मत राख्छन् । भाषा र नागरिताका बारेमा भने मोर्चाकै मागप्रति पनि उनीहरुको फरक धारणा छ ।
सहमतिपछि चुनाव हुादा झनै राम्रो हुने वीरगन्ज बहुअरीका बुनिलाल यादवको भनाइ छ ।
निर्वाचनमा सुरक्षाको लागि पर्सामा एक हजार ३ सय ६७ पुरुष र १ सय २५ जना महिलालाई निर्वाचन विशेष तालिम दिन थालिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
पर्साको एक उप–महानगरपालिका, एक नगरपालिका र ११ गाउँपालिकामा दुई लाख ८१ हजार ६ सय २० मतदाता रहेका छन् ।
निर्वाचनका लागि एक सय ६३ मतदान केन्द्र तोकिएका छन् । स्थानीय निकायको निर्वाचन प्रदेश सरकारले गराउन पाउनु पर्ने संघीय समाजवादी फोरमका अर्का नेता मोहन चौधरी बताउँछन् ।
वर्षौदेखि ब्यहोरिरहेको गरिबी, अशिक्षा, अस्वस्थता, बेरोजगारी, पछौटेपनबाट मुक्तिको चाहना गरिरहेका सीमान्तकृत नागरिकको जीवनस्तर उकास्न र विकासमा स्थानीयको साझेदारी सुनिश्चित गर्न पनि स्थानीय तहको यो निर्वाचनबाट कोही पनि नभागुन् र कोही पनि नछुटुन् ।
प्रतिक्रिया दिनुहोस्