Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


कांग्रेस उम्मेदवार छान्ने अन्तिम तयारीमा


0
Shares

पार्टीले प्रत्येक जिल्लामा पार्टीका क्षेत्रीय र जिल्ला कार्यसमितिअन्तर्गतका संयन्त्रले उम्मेदवार चयन गर्ने प्रक्रिया थालिसकेको र यो काम अन्तिम चरणमा रहेको छ ।

कांग्रेसले यसअघि नै पार्टीका स्थानीय निकायमा संयन्त्र बनाइ वैशाख ७ गतेसम्म आफ्ना उम्मेदवारको टुंगो लगाउने निर्णय गरिसकेको छ ।

पार्टीले प्रत्येक जिल्लामा केन्द्रीय पदाधिकारी तथा सदस्य खटाइ निर्वाचनका लागि पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार मनोनयनपत्र एक/दुई दिनभित्र पठाइसक्ने जनाएको छ ।

खटिएका पदाधिकारीले सो पत्रमा दस्तखत गरी निर्वाचन आयोगमा बुझाएपछिमात्र पार्टीको आधिकारिक उम्मेदवारको टुंगो लाग्नेछ ।

मुलुकभर निर्वाचन हुने सबै पदका लागि तीन प्रतिकादरले र १० प्रतिशत थप गरी कुल एक लाख १५ हजार एक सय ६३ पत्र (प्रत्येकमा पार्टीको छाप लगाइ) पठाउन काम सुरु भएको पार्टी कार्यालयका अधिकृत सूर्य भट्टराईले जानकारी दिए ।

यही वैशाख ४ गतेदेखि आधिकारिक मनोनयनपत्र पठाउन सुरु गरेको कांग्रेसले बुधबार (आज)सम्म ५० प्रतिशत बढी जिल्लामा पठाइसकेको छ ।

तीन प्रतिमध्ये एक प्रति निर्वाचन आयोगलाई, एक उम्मेदवारलाई र एक कार्यालयको अभिलेखका लागि गरी तीन प्रति र केही बिग्रने सम्भावनालाई ध्यानमा राखी १० प्रतिशत थप पत्र पठाउन लागिएको अधिकृत भट्टराईले जानकारी दिए ।

आयोगले उम्मेदवारी मनोनयन दर्ता यही वैशाख १६ गतेदेखि हुने जनाएको छ । आयोगले निर्वाचनमा सात सय ४४ स्थानीय तहका लागि ३६ हजार छ सय ३९ पदमा निर्वाचन गराउने तयारी अगाडि बढाएको छ ।

कांग्रेसले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमा पार्टीको आधिकारिक उम्मेदवारको मनोनयनपत्रमा पार्टी सभापतिको दस्तखत र बाँकी सबै पदमा केन्द्रीय पदाधिकारी तथा सदस्यको दस्तखत हुने निर्णय निर्वाचन आयोगलाई बुझाइसकेको छ ।

पार्टीका तर्फबाट ७५ जिल्लामा खटिएका पदाधिकारीमध्ये नेताद्वय खुमबहादुर खड्का र केबी गुरुङ अस्वस्थताका कारण जिल्ला जान नसक्ने देखिएपछि नेता एवं मन्त्रीद्वय डा. प्रकाशशरण महत र जीवनबहादुर शाहीलाई दुई÷दुई जिल्लाको जिम्मेवारी दिइएको छ ।

बाँकी सबै जिल्लामा पदाधिकारी र सदस्य खटाइएको पार्टी कार्यालयले जनाएको छ । रासस