२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


अपराध मोक्षका लागि भन्दै कैदीबन्दीद्वारा स्वस्थानी ब्रत


0
Shares

लमजुङ, फागुन ८ । विगतका गल्ती र अपराध मोक्षका लागि भन्दै लमजुङ जिल्ला कारागारमा रहेका कैदीबन्दीले स्वस्थानी ब्रत लिएर पूजाआजा गरेका छन् । यो कारागारमा ७६ जना कैदीबन्दी छन् । 

विगतमा गरेका गल्ती र अपराधले मन अशान्त भएकाले गल्ती र अपराध मोक्ष गर्न भन्दै केही कैदीबन्दीले एक महिनासम्म श्रीस्वस्थानी ब्रत बसेर पूजाआजा गरेका हुन् । कारागारमा रहेका ५ जना पुरुष कैदीबन्दी एक महिनासम्म ब्रत बसेका थिए भने साङ्गेका दिन ३० जना कैदीले ब्रत बसेर पूजाआजा गरे ।

विगतमा गरेका गल्ती र अपराध भुल्न र मनलाई शान्ति दिलाउन स्वस्थानी ब्रत बसेको कारागारका कैदी राजन पोख्रेलले बताए । कैदीबन्दीले दिनदिनै कथा बाचन गर्ने र सुन्ने गरेका थिए ।

साङ्गे गर्न दानदक्षिणाका लागि उनीहरुले २८ हजार जम्मा गरेकोमा बचेको रकम मानव सेवा आश्रममा दिएका छन् । कैदीबन्दीका नाइके आशिष रानाले मानव सेवा आश्रममा गएर रकम दान गर्नुको साथै स्वस्थानीको प्रसाद खुवाएको बताए ।

कैदीबन्दीले प्रशासन, प्रहरी, अदालतका कर्मचारी र सञ्चारकर्मीहरुलाई निम्ता गरेर प्रसाद खुवाएका थिए । कैदीबन्दीले स्वस्थानी ब्रत बसेर पूजाआजा गरेको घटना नौलो भएको निमित्त प्रमुख जिल्ला अधिकारी काजिमान सुनारले बताए ।