जनशक्ति अभाव नै अहिलेको मुख्य चुनौती रहेको जनाइएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका क्षेत्रमा भएका प्रगतिबारे जानकारी दिन सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा तालिमप्राप्त दक्ष निर्माण शक्तिको अभावका कारण निजी घरहरुको पुनःनिर्माणले गति लिन नसकेको बताइएको हो ।
हालसम्म भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ५ लाख ६२ हजार बढी घरधुरीसँग निजी आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता भएको छ ।
यसमध्ये ५ लाख ४३ हजार बढीले पहिलो किस्ता बुझिसकेको छन् । तर, यसमध्ये निर्माणकार्य सुरु भएको घर संख्या जम्मा ४९ हजार ७ सय बराबरमात्र पुगेको छ भने दोस्रो किस्ता भुक्तानीका लागि १४ हजार ५ सय ५७ घरहरुमात्र प्रमाणीकरण भएका छन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा.गोविन्दराज पोखरेलले पैसा लिनेहरुले पनि जनशक्ति अभावमा घर बनाउन सुरु नगरेको बताउने गरेको उल्लेख गरे ।
कतिपयले ३ लाख अनुदान रकम कम रहेको गुनासो गरेको पनि उनले बताए ।
‘प्राधिकरणले पूरै घर आफैं बनाउने होइन । नीति, बजेट र कार्यक्रम प्राधिकरणले बनाउने र अरु सरकारका अन्य प्रशासनिक संरचनाहरुबाट कार्यान्वयन हुने हो । यी निकायबीच समन्वय पनि अर्को चुनौतीकारुपमा रहेको’ उनले उल्लेख गरे ।
‘सरकारले घरधनीहरुलाई सहयोगमात्र गर्ने हो, घर त आफैं घरधनीहरुले बनाउनुपर्ने’तर्फ स्मरण गराउँदै उनले थोरै रकमबाट पनि पुराना र स्थानीय निर्माण सामग्री प्रयोग गरेर किफायती बलियो घर बनाउन सकिने बताए ।
कतिपय सक्षमहरुले पनि घर निर्माण सुरु नगरेको पनि उनले उल्लेख गरे । प्राधिकरणले तालिम दिएर दक्ष जनशक्ति निर्माण गर्ने, कार्यविधिहरु सरलीकरण गर्नेजस्ता प्रयास गरिरहेको उनले बताए ।
वैदेशिक रोजगारीमा जानेहरुलाई रोकेर यसतर्फ लगाउने गृहकार्य भइरहेको पनि जनाइएको छ ।
अघिल्लो आर्थिक वर्ष प्राधिकरणबाट पुनःनिर्माणमा १२ अर्ब रुपैयाँ खर्च भएकोमा चालु आर्थिक वर्षको हालसम्म ३० अर्ब ५२ करोड परिचालन भएको पनि प्राधिकरणले जनाएको छ ।
पुनःनिर्माण सम्मेलनमा दातृनिकायहरुबाट ३ खर्ब ४० अर्ब रुपैयाँ सहयोग प्रतिबद्धता भएकोमा ७६ प्रतिशत बराबर ३ खर्ब ४ अर्बका लागि समझदारी भएको पनि प्राधिकरणले जनाएको छ । यति नै बराबर रकम अरु अपुग हुने पनि जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्