२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


विश्वमा औलोरोगको विकराल अवस्था, कसरी लाग्छ ? यी हुन् बच्ने उपाय


0
Shares

सरकारले सन् २०२६ सम्म नेपाललाई औलोमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । जसअन्तर्गत सन् २००७ यता औलोविरुद्ध विभिन्न कार्यक्रम सन्चालन भएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा औलो जोखिमयुक्त ६५ ओटा जिल्ला रहेका छन् । जसमध्ये तराई–मधेसका ३१ जिल्लालाई उच्च प्रभावित जिल्लाकारुपमा घोषणा गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०१५ सम्ममा विश्वमा २१ करोड २० लाख मानिसहरुमा औलो देखिएको र त्यसमध्ये चार लाख २९ हजार मानिसले अकालमै ज्यान गुमाउनुपरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनमा अफ्रिकी देशहरुमा ९० प्रतिशत, दक्षिण पूर्वी एसियाली देशहरुमा ७ प्रतिशत, मध्ये पूर्वी देशहरुमा २ प्रतिशत र बाँकी अरु देशहरुमा एक प्रतिशत औलोको प्रकोप देखिएको उल्लेख छ ।

प्रतिवेदनअनुसार दक्षिण पूर्वी एसियाली देशहरुमा औलोबाट एक अर्ब ४० करोड मानिसहरु जोखिममा रहेको उल्लेख गरेको छ । जसमध्ये २३ करोड ८० लाख मानिसहरु उच्च जोखिममा छन् । सबैभन्दा उच्च जोखिममा भारत रहेको जनाइएको छ ।

दक्षिण पूर्वी एसियाली देशहरुमा पाँच वर्षको अवधिमा करिब ९ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ खर्च गरेपनि उल्लेखनीय प्रगति हासिल गर्न नसकिएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनकाअनुसार नेपालमा १० लाख ३० हजार मानिसहरु औलोको उच्च जोखिममा रहेका छन् भने एक करोड २६ लाख मानिस न्यून जोखिममा छन् ।

नेपालमा सन् २०१३ यता औलोका कारण ज्यान गुमाउनेको संख्या भने शून्य रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको छ ।

के हो औलोरोग ?
औलोलाई मेडिकल भाषामा ‘मलेरिया’ भनिन्छ । यो रोग लामखुट्टेको टोकाइबाट मानिस तथा अरु केही जनावरहरूलाईसमेत लाग्ने गर्दछ ।

यो रोग विशेषगरी प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवी संक्रमित एनफिलिज जातको पोथी लामखुट्टेको टोकाइका कारण लाग्ने गर्दछ ।

प्लाज्मोडियम समूहका पाँच प्रकारका प्रजातिहरूका कारण औलो लाग्ने गर्दछ । जसमध्ये सबैभन्दा धेरै मानिसको मृत्यु प्लाज्मोडियम फाल्सिपारम नामक परजीवीकाको संक्रमणले हुने विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।

त्यस्तै, प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआई नामक परजीवीको संक्रमणले सामान्यखालको औलोे लाग्ने गर्दछ ।

कसरी सर्दछ ?
लामखुट्टेले टोकेपछि मानिसको शरीरमा औलोको परजीवी र्याल हुँदै मानिसको रगतमा पुग्छ । त्यसरी रगतमा पुगेको परजीवी सोझै कलेजोमा पुगेर हुर्कन्छ र अरु परजीवीसमेत उत्पादन गर्दछ ।

लक्षण कस्तो ?
संक्रमित लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गरेको १० देखि १५ दिनमा मानिसलगायत जनावरहरूमा औलोको लक्षणहरू देखापर्न थाल्दछ ।

एक वा दुई दिन बिराएर कडाखालको कामज्वरो आउने, शरीर कमजोर भएर रिंगटा लाग्ने । सिरक ओढ्न मन लाग्ने साथै पसिना पनि आउने । मस्तिष्कमा असर गर्ने भएकाले बरबराउने, अनौठो किसिमको व्यवहार देखिने हुन्छ ।

साथै, मिर्गौलामासमेत असर गर्ने भएकाले पिसाबमा रगत मिसिएर आउन सक्छ ।

रोकथाम कसरी गर्ने ?
औलोको जोखिम कम तथा रोकथाम गर्न सबैभन्दा मुख्य कुरा लामखुट्टेबाट बच्ने नै हो । यसका लागि घरमा विषादीयुक्त झुल तथा लामखुट्टे भगाउने औषधिहरूको प्रयोग गर्नुपर्दछ ।

त्यस्तै, आफ्नो घर वरपर पानी जमेको खाल्टाखुल्टीमा लामखुट्टे बस्ने भएकाले समयमै पुर्ने गर्नुपर्दछ । घरको कुनै सदस्यलाई औलो संक्रमणको लक्षण देखिएमा तत्काल अस्पतालमा परीक्षण गराइहाल्नुपर्दछ ।

उपचार के ?
सुरुमा औलोको पहिचान गर्न रगतको नमुनालाई सूक्ष्मदर्शक यन्त्र तथा एन्टिजेनमा आधारित र्यापिड डाइग्नोस्टिक परीक्षण गर्नुपर्दछ ।

हाल आधुनिक चिकित्सा प्रणालीअन्तर्गत् पलिमराज चेन रियाक्सनको विधिमार्फत् परजीवीको डीएनए पत्ता लगाइन्छ । तर, यो विधि महँगो मूल्य र जटिलताका कारण बारम्बार औलो फैलिने स्थानहरूमा धेरै प्रयोगमा आएको छैन ।

अत्यावश्यक भएपनि हालसम्म औलोबाट बचाउने कुनैपनि खोप उपलब्ध छैन ।

तर, बीबीसीकाअनुसार गत महिनामात्र डब्लुएचओले औलोबाट बचाउने खोप परीक्षणका लागि अफ्रिकाका तीनओटा मुलुकलाई अनुमति दिएको छ ।

अहिलेसम्म औलो लागिसकेको बिरामीलाई उपचारका लागि ठाँउ, परजीवीको प्रकार र बिरामीको अवस्थानुसार परआर्टेमिसिनिन, मेफ्लोक्विन, ल्युम्फ्यान्ट्राइन वा सल्फाडोक्सिनरपाइरिमेथामाइनजस्ता औषधिहरूको चिकित्सकहरुको निगरानिमा सिफारिस गर्ने गरिएको छ ।