२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


भारतमा उद्धार गरिएका १७९ नेपालीलाई स्वदेश ल्याइयो


0
Shares

झापा, फागुन ७ । भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १७९ जनालाई उद्धार गरी नेपाल ल्याइएको छ । उद्धार गरिएकामा १४७ महिला र ३२ पुरुष छन् ।

मानव बेचबिखनको जोखिममा परेका १७९ जना नेपालीलाई भारतको मणिपुरबाट नेपाल सरकारका प्रतिनिधि र माईती नेपालले उद्धार गरी नेपाल फर्काएको हो । मणिपुरको इम्फालबाट म्यानमार हुँदै इराक लैजादै गरिएको अवस्थामा उनीहरूको उद्धार गरी मंगलबार झापाको काँकडभिट्टा नाका हुँदै ६ वटा बसमा नेपाल ल्याइएको छ ।

अवैध रुपमा इराक लैजान लागिएका नेपाली एकै पटक ठूलो संख्यामा फर्काइएको यो पहिलो घटना भएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए ।

गोप्य सूचनाको आधारमा दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर सरकारी संस्थाको सक्रियतामा उनीहरूलाई उद्धार गरिएको हो । उनीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारले पहल गर्ने र घटनाको छानबिन गर्ने महिला तथा बालबालिका मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले जानकारी दिए ।

उद्धार गरिएकाहरुलाई काठमाडौं ल्याईदै छ । उनीहरुलाई पुनर्स्थापनासँगै पारिवारिक मिलन गराइने महिला तथा बालबालिका मन्त्रालयले जनाएको छ ।