२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


उम्मेदवार बन्न एक दर्जन शिक्षकको राजीनामा


0
Shares

आसन्न स्थानीय तहको निर्वाचनमा गाउँ प्रमुख र वडा प्रमुखका लागि उम्मेदवार बन्न १२ जना शिक्षकले राजीनामा दिएका हुन् ।

कतिपय शिक्षकले उम्मेदवार पाउने निश्चित भएपछि राजीनामा दिएका छन् भने कतिपयले पदबाट राजीनामा दिएर टिकटका लागि कसरत गरिरहेका छन् ।

जिल्ला शिक्षा कार्यालयका अनुसार सिम्पानी क्याम्पसका प्रमुख राजनप्रसाद ढकाल, माक्पा माविका शिक्षक विश्वनाथ निरौला, सरस्वती मावि डाँडाखर्क छितापोखरीका शिक्षक केशवराज कार्की, जनता मावि बतासेका शिक्षक वसन्त राई, पञ्चकन्या आधारभूत विद्यालय डाँडागाउँका शिक्षक विमल खड्का, सरस्वती प्रावि पौवासेराका शिक्षक हरिकुमार राई, हीरा प्रावि महेश्वरीका शिक्षक राजेशकुमार राजभण्डारी, राष्ट्रिय मावि बास्पानीका शिक्षक खगेन्द्रबहादुर गुरुङ, प्रतिभा प्रावि मात्तिमका शिक्षक रोहित राई, शारदा मावि हौंचुरका शिक्षक यज्ञनारायण श्रेष्ठ, चन्द्र प्रावि सिमखर्क सुङ्देलका शिक्षक कालिकाप्रसाद रिजाल र डाँडाखर्क प्रावि बराहपोखरीका ढकबहादुर कार्कीले राजीनामा दिएका छन् ।

अस्थायी शिक्षकका रुपमा कार्यरत केशवराज कार्की, रोहित राई र यज्ञनारायण श्रेष्ठको भने विद्यालय व्यवस्थापन समितिले राजीनामा स्वीकृत गरेर जिल्ला शिक्षा कार्यालयमा जानकारी पठाएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जानकारी दिए ।

अन्य स्थायी शिक्षकको भने राजीनामा स्वीकृतिका लागि शिक्षामा फायल आएको नेपालको भनाइ छ । उम्मेदवारका इच्छुक कतिपय शिक्षकले वैशाख ३ गतेअघि पनि राजीनामा दिइसकेको शिक्षा कार्यालयले जनाएको छ ।

पारिवारिक, घरायसी र व्यक्तिगत कारण देखाउँदै शिक्षकको राजीनामा आएको भएपनि अधिकांशले गाउँपालिका र वडा प्रमुखमा उठ्नका लागि राजीनामा दिएका स्रोतको दाबी छ ।

सरस्वती मावि डाँडाखर्क छितापोखरीको प्रधानाध्यापकबाट राजीनामा दिएका कार्की र जनता मावि बतासेको जागीर छाड्नुभएका राई दिप्रुङ गाउँपालिकाको प्रमुखको टिकट हात पार्ने दौडधुपमा रहेका छन् ।

पञ्चकन्या आधारभूत विद्यालय डाँडागाउँका प्रअबाट राजीनामा दिएका खड्का एमालेका तर्फबाट दिप्रुङ गाउँपालिका–५ छितापोखरीबाट वडा प्रमुखमा उठ्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।

स्रोत व्यक्तिको पद छाडेर ऐंसेलुखर्क गाउँपालिका प्रमुखमा उठ्ने तयारी गरेका निरौला नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि समेत हुन् । दिप्रुङ गाउँपालिकाको प्रमुखको दौडमा लागेका कार्की हाल काँग्रेसका महासमिति सदस्यको भूमिकामा छन् । रासस