१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


मेसेडोनियाको संसदमै प्रवेश गरी प्रदर्शनकारीहरुद्वारा सांसदमाथि हमला


195
Shares

त्यहाँको सभामुखमा एक अल्बेनियाली जातीय नेता निर्वाचित भएपछि विरोध प्रदर्शन भएको हो । प्रदर्शनकारीहरु संसद भवनमै प्रवेश गरी सांसदहरुमाथि हातपात गरेका थिए ।

प्रदर्शनकारीको कुटाइबाट सत्तारुढ समाजवादी प्रजातान्त्रिक पार्टीका करिब एक दर्जन सांसद घाइते भएका छन् ।

पूर्व प्रधानमन्त्री निकोला ग्रुएभस्कीको ‘भिएमआरओ’ पार्टीका समर्थकहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले नयाँ चुनावको माग गरेका छन् ।

प्रदर्शनकारीको आक्रमणबाट समाजवादी पार्टीका नेता जोरान जायफ गम्भीर घाइते भएका छन् । उनको टाउकोबाट रगत बगिरहेको दृष्यसहितको तस्वीर संचारमाध्यमहरुले प्रकाशित गरेका छन् ।

समाजवादी पार्टीका नेता जायफले अल्बेनियाली जातीय पार्टीसँग गठबन्धन बनाएदेखि नै विरोध प्रदर्शन भएको हो । सोही गठबन्धनका आधारमा सभामुख पद अल्बेनियाली जातीय पार्टीलाई दिइएपछि प्रदर्शन अझ उग्र भएको हो ।


अल्बेनियाली जातीय पार्टीका तालर जाफेरीलाई सभामुख बनाउने निर्णय संसदले गरेपछि प्रदर्शनकारीहरु आक्रोसित भएर संसद भवनभित्र प्रवेश गरेको बताइन्छ । करिब दुई सयको हाराहारीमा प्रदर्शनकारीहरु एकसाथ संसद भवनमा प्रवेश गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन गैरघातक ग्रिनेडसमेत प्रहार गरेको थियो ।

स्थानीय टेलिभिजन च्यानलका अनुसार सो घटनामा प्रदर्शनकारी, प्रहरीसमेत गरी ४८ जना घाइते भएका छन् ।

केहीबेरमा सुरक्षाकर्मीले सांसदहरुलाई संसद भवनबाट सुरक्षित बाहिर निकालेका थिए ।

अमेरिका, नेटो र युरोपेली युनियनका उच्च अधिकारीहरुले मेसेडोनियाको संसदमा भएको सो आक्रमणको निन्दा गरेका छन् । (एजेन्सी)