काठमाडौं, फागुन ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अपर कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढिरहेको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रश्नोत्तर कार्यक्रमअन्तर्गत् सांसद रामबहादुर विष्टले जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइबारे राखेको जिज्ञासामा मन्त्री पुनले जीएमआरले अपर कर्णालीको बिजुली बंगलादेशमा बिक्री गर्नका लागि दुई महिनाभित्र खरिद सम्झौता हुने विश्वास दिलाएको र वित्तीय व्यवस्थापनका लागि एक वर्षको समय मागेको बताए ।
उनले आगामी मार्च २९ र ३० मा काठमाडौंमा गरिने लगानी सम्मेलनमा नेपाल र बंगलादेशबीच विद्युत् खरिद–बिक्री सम्झौता गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।
‘चैतभित्रै स्ववियु निर्वाचन गर्ने विषयमा छलफल’
प्रश्नोत्तरअन्तर्गत् सांसदहरुका जिज्ञासाको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले आगामी चैत महिनाभित्रै स्ववियु निर्वाचन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
विद्यालय स्रोतव्यक्ति हटाएको विषयमा उनले मुलुकभर ७५ जना स्रोतव्यक्ति रहेको र तीबाहेक करारमा रहेकाहरुको करार नवीकरण गर्ने वा नगर्ने विषयमा छलफल भइरहेको बताए ।
विधेयक पारित
बैठकले लेखापरीक्षण विधेयक र जीवनाशक विषादी व्यवस्थापन विधेयकलाई पारित गरेको छ ।
यस्तै, बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।









प्रतिक्रिया दिनुहोस्