२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


पहिलो चरणको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता


0
Shares

बैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको चुनाव हुन लागेको छ ।

बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको लागि मंगलबार उम्मेद्वार मनोनयन दर्ता हुँदैछ ।

स्थानीय तहको चुनाव २ चरणमा गर्ने निर्णय भएर उम्मेद्वारी दर्ता गर्ने मिति नसरेको भए शनिवार देशैभर उम्मेद्वारी मनोनयन दर्ता भइसकेको हुन्थ्यो ।

सरकारको आग्रहमा निर्वाचन आयोगले १६ गते तोकिएको मनोनयन दर्तालाई ३ दिनपछि सारेर बैशाख १९ अर्थात मंगलबार पुर्‍याएको हो ।

बैशाख ३१ मा पहिलो चरणमा घोषित प्रदेश नम्बर ३,४ र ६ का ३४ जिल्लाका २ सय ९१ स्थानीय तहको निर्वाचनको लागि मंगलबार उम्मेद्वारी मनोनयन दर्ता हुन लागेको हो ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पहिलो चरणको निर्वाचनको लागि मनोनयन दर्ताको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भईसकेको जानकारी दिए ।

निर्वाचन आयोगले उम्मेदवार मनोनयन दर्ताको लागि निश्चित प्रक्रिया तोकेको छ । उम्मेद्वारी दिनको लागि सोही स्थानीय तहमा मतदाता नामावली अनिवार्य हुुनुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको लागि उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने समय मंगलवार विहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ ।

यस्तै, आयोगले सार्वजनिक गरेको पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सुची प्रकाशन मंगलबार साढे ५ बजे,उम्मेद्वारको विरोधमा उजुरी दिन बुधबार १० बजेदेखि दिउँसो १ बजेसम्म रहेको छ ।

मनोनयन जाँच गर्ने समय बुधबार दिउँसो १ बजेदेखि बिहिबार साढे ११ बजेसम्म, उम्मेद्वारको नामावली प्रकाशन विहीबार साढे ११ बजेदेखि १ बजेसम्म र उम्मेदवारले नाम फिर्ता लिने समय बिहिबार १ बजेदेखि ५ बजेसम्म निर्धारण गरिएको छ ।

उम्मेद्वारको अन्तिम नामावली प्रकाशन शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म गर्ने कार्यक्रम रहेको छ । शुक्रबार विहान ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

तर दलहरुबीचको असहमति र पछिल्लो समय विकसित भएको राजनीतिक घटना क्रमका कारण मनोनयनको अघिल्लो दिनसम्म पनि चुनाव हुनेमा आशंका कायमै छ ।