-मानबहादुर वली/ ईमेज
सुर्खेत । कर्णाली प्रदेश सरकार गठन भएको एक वर्ष पुरा भएको छ ।
सबैभन्दा पहिले प्रदेशको नामाकरण र राजधानी टुंगो लगाएर चर्चामा आएको सरकारले नागरिक अपेक्षासँग जोडिएका अन्य सवालहरुमा भने उल्लेख्य प्रगति गर्न सकेन ।
महेन्द्रबहादुर शाहीको नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको छ ।
दुईतिहाई बहुमतप्राप्त गरेको शाही नेतृत्वको प्रदेश सरकारले चालू आर्थिक वर्षको सात महिनामा विकास खर्च करिब ४ प्रतिशतको हारहारीमा मात्रै खर्च गर्न सफल भएको छ ।
शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा एक वर्षे उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री शाहीले शून्यबाट काम शुरु गरेको प्रदेश सरकारले विकास निर्माणका दर्जनौं जनमुखी काम गरेको दाबी गरे ।
मुख्यमन्त्रीले आफूले गरेका कामको लामो फेहरिस्ता प्रस्तुत गरेका थिए ।
यता, प्रमुख प्रतिपक्षी दल काग्रेसका प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले नामाकरण र राजधानी घोषणा गर्नुबाहेक जनतालाई विकासको अनुभूति हुने उल्लेख्य काम गर्न नसकेको टिप्पणी गरे ।
प्रदेश सरकारको विकास खर्च निराशाजनक देखिनुले पनि सरकारले विकास निर्माणका काममा खासै उपलब्धि हासिल नगरेको स्पष्टै छ ।
एक वर्षको अवधिमा प्रदेश सभाले १८ वटा विधेयक पारित गर्न सफल रह्यो भने सरकारले २७ वटा नियमावली र कार्यविधि तयार पारेको छ ।
आम जनतासँग जोडिएको विषय भनेको सुसासन,विकास र समृद्धि रहेकाले त्यसमा उत्साहप्रद अवस्था देखिँदैन ।
शून्य अवस्थाबाट काम सुरु गरेको सरकारले यतिछिट्टै परिणाम दिइहाल्नुपर्ने अवस्था नरहे पनि त्यसको सकारात्मक संकेत भने देखिनुपथ्र्यो ।








प्रतिक्रिया दिनुहोस्