
बहिरा नागरिकका लागि स्थानीय निर्वाचनसम्बन्धी आज यहाँ आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उनले मङ्गलबारको मनोनयनपछि आज बिहानदेखि नै उम्मेदवारहरू निकै उत्साहपूर्वक र खुसीयालीका साथ झन्डा र चुनाव चिह्नसहित निर्वाचन प्रचारप्रसारमा जुटिसकेको जानकारी दिए ।
सामाजिक र सांस्कृतिक रुपमा मिलेर बसेको हाम्रो समाजमा निर्वाचन प्रचारप्रसारको क्रममा एक अर्कामा होच्याउने र अवहेलना गर्ने कार्य नगर्न सबै उम्मेदवार र राजनीतिक दललाई आग्रह गर्दे उनले भने “उम्मेदवारी दर्ता गर्नुअघि भगवानसँग आशिर्वाद लिएर जानुभएको छ, अब उहाँहरुले कानुनको बर्खिलाप गर्नुहुन्छ भने लाग्दैन ।”
उम्मेदवारलाई निर्वाचन कानुन, नियम र आचारसंहिताको पालना गराउन अरुले पनि दबाब दिनुपर्छ भन्दै उनले अहिले नै कानुनको उल्लङ्घन गर्नुहुन्छ, भने निर्वाचित भएपछि झन कसरी पालना गर्नुहुन्छ भनी प्रश्न सोध्न सुझाव दिए ।
निर्वाचनको बेलामा उम्मेदवारले ‘भोट र नोट’ दुबै माग्न सक्नेतर्फ इङ्गित गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने-‘‘निर्वाचनको बेला उम्मेदवारलाई एक मुठ्ठी चामल पनि नदिनुहोला, एउटा भोटसँगै कतिपयले नोट पनि माग्ने गर्दछन्, त्यस अवस्थामा भोट दिन्छौँं, नोट दिदैनौं स्पष्टसँग भन्नुहोला ।’’
निर्वाचनको वातावरण र सुनिश्चिताका लागि अतुलनीय योगदन पुर्याएको भनी आमसञ्चार माध्यमको प्रशंसा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले राजनीतिक दल र उम्मेदवारले निर्वाचनको प्रचारप्रसारको क्रममा हुनसक्ने तडकभडक र आचारसंहिताको पालना गरे÷नगरेको बारे अनुगमन र निगरानी गर्न सुझाव दिए ।
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बाजागाजासहित शान्तिपूर्ण र उत्साहितरुपमा भएको उम्मेदवारी मनोनयन दर्ताले निर्वाचनसम्बन्धी सबै द्विविधालाई शान्त पारेको छ भने ।
आयोगका सहसचिव नवराज ढकालले राजनीतिक दल र नागरिक समाजको सहभागितामा सहज, शान्तिपूर्ण र उत्साहपूर्वक रुपमा भएको मनोनयनले लोकतान्त्रिक युगको नयाँ सुरुवात भएको सङ्केत गरेको छ भने ।
नेपाल राष्ट्रिय बहिरा सङ्घका अध्यक्ष रामप्रसाद पन्तले निर्वाचनसम्बन्धी संशय समाप्त भएकाले निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर मतदातालाई मतदानमा किन भाग लिनुपर्छ भनेर प्रेरित गर्ने काममा सबै तह र तप्का लाग्नुपर्ने सुझाव दिए । कार्यक्रममा ३८ जिल्लाबाट आएका बहिरा प्रतिनिधिको सहभागिता छ । रासस
प्रतिक्रिया दिनुहोस्