२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


नवलपरासीमा चुनावी उत्साह: चुनावलाई पर्वको रुपमा मनाउन सुझाव(भिडियो)


0
Shares

-हरि शर्मा/ ईमेज

एउटै जिल्ला भएर पनि दुई प्रदेशमा विभाजित नवलपरासीका जनताहरुले प्रदेश नं. ४ को नवलपुर क्षेत्रमा बैशाख १९ गते शान्तिपूर्ण तरिकाले सम्पन्न भएको मनोनयन पत्र दर्तापछि चुनाव हुनेमा विश्वास व्यक्त गरेका हुन् ।

मनोनयन पत्र दर्ता कार्यक्रम हेर्न परासी क्षेत्रका स्थानीयहरु नवलपुर क्षेत्रमा पुगेका थिए ।

प्रदेश विभाजन अनुसार नवलपरासीको नवलपुर क्षेत्र ४ मा छ भने तत्कालिन त्रिवेणी सुस्ता गाउँपालिकाको वडा नं. ६ र ७ सहित परासी क्षेत्र प्रदेश नं. ५ मा रहेको छ ।

मनोनयन पत्र दर्तापछि राजनीतिक दलका कार्यकर्ता मात्र नभई मतदाताहरुमा पनि उत्साह थपेको भन्दै स्थानीयहरुले सरकारले गर्ने भनेको दोस्रो चरणको निर्वाचनलाई एकै चरणमा गर्न पनि सुझाव दिएका छन् ।

जनताहरुमा निर्वाचनको उत्साह देखिएपनि राजनीतिक दलहरुबीच देखिएको असमझदारीले जनतामा केही निराशा देखिएको भन्दै उनीहरुले असन्तुष्ट पक्षलाई तत्काल सहमतिमा ल्याएर उत्साहलाई पर्वको रुपमा लैजान सरकारसँग माग गरेका छन् ।

जिल्लामा सात नगरपालिका र आठ गाउँपालिका छन् । जसमा चार नगरपालिका र चार गाउँपालिकामा मनोनयन पत्र दर्ता भएको छ ।

मनोनयन पत्र दर्ता भएका नगरपालिकामा गैंडाकोट नगरपालिका, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका छन् ।

त्यसैगरी हुप्सेकोट, बुलिङटार, विनयी–त्रिवेणी र वुङ्डिकाली गाउँपालिकामा उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका छन् ।

९२ वडाहरु रहेका उक्त स्थानीय तहबाट स्वतन्त्रसहित एक हजार ७ सय २६ जनाले उम्मेदवारी दिएको मूख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।

कुल तीन लाख ६९ हजार ९ सय ९४ मतदाता रहेको जिल्लामा प्रदेश नं. ४ को नवलपुर क्षेत्रमा एक लाख ८६ हजार ८ सय ८१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ३२ दल दर्तामा छन् ।