
आयोगले आज ११ देखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने जनाएको हो । आयोगले उम्मेदवारहरुका लागि नाम फिर्ता लिन समय पनि आजैका लागि तोकेको छ ।
आयोगले उम्मेदवार बनेकाहरुले आफ्नो नाम फिर्ता लिन चाहे दिउँसो १ बजेदेखि ५ बजेसम्मको समय छुट्याइएको जनाएको छ ।
उम्मेदवारी फिर्ता लिन चाहनेले सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी फिर्ता लिनसक्ने छन् ।
आयोगले भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।
पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको तथ्यांकअनुसार महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुखमा १ हजार ८ सय ५६ जनाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै उपप्रमुखमा करिब १ हजार ३ सय ७३ जनाले उम्मेदवारी दिएका छन् । नगरपालिका र गाउँपालिका वडाध्यक्षमा भने १० हजार ९८ ले उम्मेदवारी दिएको आयोगको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
त्यसैगरी दुई खुला सदस्यका लागि १६ हजार ८३ जनाले उम्मेदवारी दिएका छन् भने महिला सदस्यका लागि ७ हजार ९ सय ९४ र दलित महिला कोटामा ६ हजार ६ सय ४५ जनाले उम्मेदवारी दिएका छन् ।
२ सय ८३ स्थानीय तहमा प्रमुख, उपप्रमुख र सदस्यसहित गरी १३ हजार ५ सय ५६ जना निर्वाचित हुने छन् ।
प्रतिक्रिया दिनुहोस्