Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


ओली सरकार इतिहासकै अयोग्य सावित, प्रधानमन्त्रीमा शासकीय क्षमता देखिएन : कांग्रेस


0
Shares

काठमाडौं, फागुन ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई ‘कुहिरोमा हराएको काग’को नियतिबाट बाहिर निस्कन सुझाव दिएको छ ।

आइतबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक वर्षमा सरकारले बेथितिको बिजारोपण गरेको र विश्वास गुमाएको आरोप लगाए ।

दुईतिहाइको सरकारले एक वर्ष व्यर्थमै बिताएको भन्दै शर्माले गल्ती र कमजोरीहरु सुधार गरेर सहि बाटोमा आउन आग्रह गरे ।

इतिहासकै बलियो र सहज सरकार भएरपनि इतिहासकै सबैभन्दा अयोग्य सावित भएको भन्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीमा शासकीय क्षमता नदेखिएको जिकिर गरे ।

कांग्रेसले वर्तमान ओली सरकारको एकवर्षे कार्यकालको समीक्षा ८ ओटा बुँदामा गरेको छ ।

जसमा मधेस मुद्दाको सम्बोधन नगर्नु, डा. गोविन्द केसीसँगको सम्झौता कार्यान्वनय नगर्नु, कन्चनपुरकी बालिका निर्माला पन्तका हत्यारालाई कानुनी दायरामा ल्याउन नसक्नु, बूढीगन्डकीमा ‘राष्ट्रघाती निर्णय’ गर्नुलगायतका आरोप लगाइएको छ ।

यस्तै, सरकारले भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मारेको र कूटनीतिको कच्चाखेल खेलेको आरोप पनि कांग्रेसले लगाएको छ ।

सरकारले अधिनायकवादको आचरण देखाएको र सरकार सैद्धान्तिक विचित्रताको दोबाटोमा उभिएको पनि कांग्रेसको ठहर रहेको छ ।