डम्मर बुढा मगर
बागलुङ, फागुन ५ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकास र समृद्धिलाई आफ्नो पार्टीले राष्ट्रिय एजेण्डा बनाएर लैजाने बताएका छन् । पूर्व–पश्चिम जनसंवाद यात्राको अवसरमा आइतबार बागलुङको गलकोटमा आएका भट्टराईले अबको पाँच वर्षमा गरिबी अन्त्य गर्ने, १५ वर्षमा मध्यम स्तरमा पुग्ने र २५ वर्षमा विश्वकै धनी देशको रुपमा विकास गर्ने आफनो पार्टीको लक्ष्य रहेको बताए ।
दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार भएको समयमा समेत देशमा भ्रष्टाचार मौलाईरहेको आरोप लगाउँदै डा. भट्टराईले भ्रष्टाचार कायम रहेसम्म आर्थिक विकास सम्भव नहुने बताए ।
राजनीतिक उपलब्धी हासिलका लागि कांग्रेस, एमाले र माओवादीले पालैपालो संघर्ष गरेको भन्दै उनले अब पालो आर्थिक विकासको भएको उल्लेख गरे । देशको आर्थिक विकासका लागि पुर्वाधार निर्माणमा बजेट छरेर मात्रै नहुने उनको भनाइ थियो । एकीकृत योजनाहरु बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर लगायतका पाँचवटा कोरिडोरले समग्र देशको सडकको प्रतिनिधित्व गर्ने गरि काम सुरु गरिएको भन्दै भट्टराईले नयाँ सोचका साथ विकास निर्माणका काममा अघि बढ्न सबै राजनीतिक दलहरुलाई सुझाव दिए । आफुले मध्यपहाडी लोकमार्ग आसपासको अवस्था र विकासलाई बुझेर प्रतिवेदन तयार गर्न अभियान चलाएको भन्दै उनले विकासको खाका सहितको प्रतिवेदन तयार गर्ने दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्