Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


‘रेणु दाहालको उम्मेदवारी स्वाभाविक’


0
Shares

सहमति तथा सहकार्यको संस्कारलाई अगाडि बढाउन पनि सहमति र सहकार्य अगाडि बढाउनु जरुरी छ भन्दै माओवादी केन्द्रले इमान्दारीताका साथ पार्टी केन्द्रको निर्देशन र स्थानीय आवश्यकतालाई विशेष ख्याल गर्नसमेत आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पम्फा भुसालले पार्टी केन्द्रीय कार्यालयले स्थानीय आवश्यकताका आधारमा जुनसुकै शक्तिसँग पनि तालमेल गर्ने अधिकार दिएपनि सरकारमा सँगै रहेका दलसँगको सहकार्य नै बढी जिम्मेवार हुने बताइन् ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनकाक्रममा अगाडि बढेको तालमेलको प्रक्रिया दोस्रो चरणमासमेत निरन्तर रहने छ भन्दै प्रवक्ता भुसालले कुनैपनि कार्यकर्ता र समर्थकलाई सानो चित्त नगर्न आग्रह गरिन् ।

उनले धादिङ, दोलखा, म्याग्दी, मकवानपुरलगायत एक दर्जन जिल्लामा कांग्रेससँग तालमेल भएको जानकारी दिइन् ।

नेकपा एमालेसँग तनहुँमा तालमेल भइ सहमतिका साथ अगाडि बढ्ने निर्णय सोही दलले नै भत्काएको आरोप उनले लगाइन् ।

रेणु दाहालको उम्मेदवारी स्वाभाविक
प्रवक्ता भुसालले पार्टीका अन्य उम्मेदवारजस्तै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव रेणु दाहालको उम्मेदवारी स्वाभाविक र नियमित तथा प्राकृतिक भएको बताइन् ।

नेत्री भुसालले भनिन्–‘जनयुद्धको समयदेखि नै निरन्तररुपमा पार्टी आन्दोलनमा लागेका अन्य कार्यकर्ताजस्तै देश र जनताको पक्षमा रेणुजी हुनुहुन्छ । उहाँलाई केवल पार्टी अध्यक्षको छोरीकारुपमामात्रै चित्रित गर्नु गलत हुनजान्छ । उहाँ हाम्रो पार्टीको महिला संगठनको महासचिव पनि हुनुहुन्छ ।’

कांग्रेससँग भएको तालमेल स्वाभाविक हो भन्दै उनले कास्कीमा माओवादीले कांग्रेसका उम्मेदवार र भरतपुरमा कांग्रेसले माओवादी उम्मेदवार दाहाललाई मतदान गर्ने विश्वास व्यक्त गरिन् ।

स्थानीय तहलाई नै घोषणापत्र बनाउने अधिकार
नेत्री भुसालले स्थानीय तहमा नै पार्टीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्न अधिकार प्रदान गरिएका कारण औपचारिकरुपमा पार्टी केन्द्रले त्यस प्रकारको कार्यक्रम नराखेको बताइन् ।

स्थानीय तहको निर्वाचन भएकाले स्थानीय सापेक्षतामा नै पार्टीका उम्मेदवारले प्रतिबद्धतापत्र सार्वजनिक गरेको उल्लेख गर्दै प्रवक्ता भुसालले भनिन्–‘केन्द्रीय संसदको चुनाव जसरी ठूल्ठूला हवाई सपना हामीलाई बाँड्नु छैन । स्थानीय तहको सापेक्षतामा हामीले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छौं । केन्द्रका तर्फबाट ३० बुँदे निर्देशनपत्र दिइएको छ ।’

माओवादी केन्द्र नेतृत्वको सरकारले सिंहदरबारको अधिकारलाई गाउँतहमा पुर्‍याएकाले स्थानीय तह निर्वाचनको प्रमुख नारा नै ‘माओवादी केन्द्रको उपहारः गाउँगाउँमा सिंहदरबार’ तय गरिएको उनको भनाइ छ ।

‘जसको नीति उसको नेतृत्व’ भन्ने नाराका साथ माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा होमिएको जानकारी दिँदै प्रवक्ता भुसालले आफूहरुको ध्यान स्थानीय तहलाई नै अधिकारसम्पन्न बनाउनेतर्फ केन्द्रित रहेको बताइन् । रासस