शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौंमा रहेको अव्यवस्थित सवारी–साधनलाई नियमन गरेर ठूला–ठूला बस चलाउने आफ्नो एजेन्डा रहेको बताए ।
दलीय संयन्त्रको सदस्यकोरुपमा आफ्नै पहलमा काठमाडौं महानगरपालिकाले साझाबस चलाउनका लागि रु १० करोड छुट्ट्याएको जानकारी दिँदै उनले हाल उपत्यकामा ३८ ओटा ठूला बस चलेको र त्यसलाई निरन्तररुपमा अगाडि बढाउने तथा काठमाडौं उपत्यकामा रहेका साना सवारी–साधन व्यवस्थित गरिने कार्यलाई प्राथमिकता दिइने बताए ।
कुल ३९ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै प्रमुखका उम्मेदवार डंगोलले ‘उज्यालो नेपाल’ अभियानलाई अगाडि बढाउँदै राजधानीमा विद्युतीय ट्रलीबस चलाउने, महानगरका सडक खाल्डाखुल्डीरहित बनाउने, महानगरभित्र निर्माण भएका मापदन्डविपरीतका घरहरुको प्रमाणीकरण गर्ने, अव्यवस्थित सहरीकरण अन्त्य गर्ने र भूउपयोग नीति लागू गर्ने प्रतिबद्धतापत्रमा उल्लेख रहेको बताए ।
काठमाडौं उपत्यकामा जापानी प्रविधिको मेट्रोरेल चलाउन सकिने भन्दै उनले एकाध वर्षमा हुननसक्ने हवाई कल्पनाको पक्षमा आफू र आफ्नो पार्टी नरहेको बताए ।
महानगरभित्र उचित ढल निकासको प्रबन्ध गर्ने, जमिनमुनिको पानीको उचित प्रयोग गर्दै रिचार्ज गर्ने प्रणालीको विकास गर्ने, फोहोरबाट बिजुली ग्यास निकाल्ने र कम्पोस्ट मल कारखाना स्थापना गरी कृषि क्षेत्रको विकासमा जोड दिने लक्ष्य राखिएको जानकारी दिँदै उनले ढलको पानी प्रशोधन गरेरमात्रै नदीमा खसाल्ने प्रणालीको विकास गरिने आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरिएको बताए ।
‘काठमाडौं महानगरपालिकालाई पूर्णरुपमा स्मार्टसिटी बनाउने आफ्नो पार्टीको योजना रहेको छ’–डंगोलले भने ।
महानगरमा एक उच्च प्रविधिको सहरी पुस्तकालय, महानगरमा निःशुल्क वाइफाइको व्यवस्था तथा ज्येष्ठ र गरिबीको रेखामुनि रहेका नागरिकलाई जीविकोपार्जन गर्नसक्ने गरी आजीवन भत्ताको व्यवस्था गरिने जानकारी दिए ।
स्वास्थ्य सेवा आमनागरिकलाई सहज एवं सर्वसुलभ बनाउने, महिला तथा युवालाई स्वरोजगारका लागि अभिप्रेरित गर्ने निःशुल्क तालिम तथा अन्य सीपमूलक प्रविधि हस्तान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए ।
युवालाई पढाइका साथै अल्पकालीन रोजगारीको व्यवस्था गरिने, सहरी स्वयंसेवक परिचालन गर्ने, काठमाडौं महानगरलाई अरु नगरसँग जोडेर मेगासिटी बनाउने, प्रत्येक ६/६ महिनामा स्थानीय सरकारको मूल्यांकन गर्ने र जनताको कठघरामा उभिने प्रणालीको विकास गर्ने तथा अनियन्त्रित फुटपाथ व्यवस्थित गर्ने योजना रहेको डंगोलको भनाइ छ ।
पत्रकार सम्मेलनमा उपप्रमुखका उम्मेदवार सुशीला पौडेलले लोडसेडिङको अन्त्यपछि काठमाडौंमा आफूहरु र आफ्नो पार्टीप्रति जनताको विश्वास बढेको भन्दै नयाँ नेपालको सपना साकार हुने बताइन् ।
यो निर्वाचन विगतकोजस्तो स्थानीय निकायको निर्वाचन नभइ सिंहदरबारमा रहेको अधिकार जनताको घर–आँगनमा पुग्ने भएकाले विशेष महत्वको रहेको उल्लेख गरिन् । रासस





प्रतिक्रिया दिनुहोस्