Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


ओलम्पियन पौडीवाज शिरिषको नाममा फाउन्डेसन स्थापना


0
Shares

१२ औं सागकी स्वर्णधारी उसुकी निमालाई पहिलो छात्रवृत्ति प्रदान गर्दै फाउन्डेसनले कार्य प्रारम्भ गरेको छ । प्रतिभावान् खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने गरि आइतबार एक कार्यक्रमकाबीच ‘शिरीष फाउन्डेसन’ नामक दीर्घकालिन खेलकुद छात्रवृत्तिको औपचारिक घोषणा गरिएको हो ।

फाउन्डेसनको औपचारिक उदघाटन राष्ट्र बैंकका गभनर डा. चिरन्जीवी नेपालले गरेका थिए । उदघाटन कार्यक्रममा सिटिजन बैंकका सीईओ राजन सिंह आचार्य, फाउन्डेसनका सल्लाहकार तथा रञ्जित शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, फाउन्डेसनका सदस्य जगतमान गुरुङ, विभिन्न खेलका प्रशिक्षक, खेलाडी लगायतका उपस्थिति थियो ।

फाउन्डेसनले ओलम्पिक खेल खेलिने विभिन्न १५ खेलका प्रतिभावान खेलाडीलाई छात्रवृत्ति प्रदान गर्नेछ । जसअनुसार एथलेटिक्स, आर्चरी, तेक्वान्दो, जुडो, टेबल टेनिस, ब्याडमिन्टन, कराते, उसु, साइक्लिङ, भारोत्तोलन, ट्रायथलन, सुटिङ, लन टेनिस, बक्सिङ र पौडी खेलका खेलाडीले यो छात्रवृत्ति पाउने छन् ।

फाउन्डेसनले १० देखि १४ वर्ष उमेरसमूहका खेलाडीलाई राष्ट्रिय संघ अध्यक्ष र मुख्य प्रशिक्षकसँग छलफल गरेर छात्रवृत्ति प्रदान गरिने छ । त्यसबाहेक कुनैपनि खेलाडीको अद्भुत क्षमता भए बढी उमेरका खेलाडीलाई समेत फाउन्डेसनले छात्रवृत्ति उपलब्ध गराउने छ । यस्तै खेलाडी छान्दा उसको परिवारको समेत अध्ययन गरेर शारीरिक रूपमा कति विकास हुन सक्छ भन्नेसमेत अनुमान गरिने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले छात्रवृत्ति पाउने खेलाडीको सुविधाका लागि बिभिन्न खेलका दक्ष प्रशिक्षक लगायत टेक्निकल टोलीहरु राखिएको छ ।

छात्रवृत्ति पाएका खेलाडीलाई फाउन्डेसनले नियमित प्रशिक्षण, पोषणयुक्त खानपान, मानसिक रूपमा अब्बल बनाउन अध्ययन, सुविधायुक्त अभ्यास, यातायात, बसोबास, नियमित स्वास्थ्य परीक्षणलगायतका सबै सुविधा उपलब्ध गराउने छ । छात्रवृत्ति पाएका खेलाडीलाई सिधै रकम भने उपलब्ध गराउने छैन । किनकि रकम उपलब्ध गराए उक्त रकम गलत प्रयोजनमा पर्ने शंका फाउन्डेसनलाई रहेको छ ।

आइतबार औपचारिक उदघाटन गरिएको फाउन्डेसनले पहिलो चरणको छात्रवृत्ति स्वरूप उसु खेलाडी तथा भारतमा सम्पन्न १२ औं साग गेम्सका स्वर्णधारी निमा घर्ती मगरलाई प्रदान गरिएको छ । निमाले १२ औं सागमा नेपालका लागि पहिलो स्वर्ण पदक जितेकी थिइन् ।

फाउन्डेसनका अध्यक्ष शिरिष ब्राजिलमा गत बर्ष भएको रियो ओलम्पिक खेलेका बहुप्रतीभाशाली खेलाडी तथा नेपालका कीर्तिमानी पौडीवाज हुन् । १९ बर्षीय उनको नेपाली पौडीमा १४ वटा राष्ट्रिय कीर्तिमान छ । त्यसबाहेक शिरिषले सानै उमेरमा गाडी, ट्रक चलाएर सबैलाई चकित बनाएका खेलाडी हुन् ।