Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


गठबन्धनबाट हटाइएकोबारे उपेन्द्र यादवले भने, ‘त्यो व्यक्तिगत विज्ञप्ति हो, गठबन्धनको निर्णय होइन’


0
Shares

उनले संघीय गठबन्धनको संयोजक तथा फोरमका अध्यक्षको हैसियतबाट आइतबार प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘सङ्घीय गठबन्धनको संयोजक म स्वयम् रहेको र मेरो सल्लाहमा उक्त दिन कुनै पनि बैठक आयोजना नभएको कुरा यहाँ अवगत गराउन चाहन्छु । म संयोजक र प्रवक्ता प्रा डा ओम गुरुङलगायत गठबन्धनका अधिकांश बहुमत सदस्यलाई कुनै जानकारी नै नदिई व्यक्तिगतरुपमा आयोजना भएको कथित बैठक सङ्घीय गठबन्धनको बैठक हुनै सक्दैन ।’

गठबन्धनको अवधारणा पत्रको मर्म, भावना र आचारसंहिता विपरीतको बैठकले सङ्घीय गठबन्धनको बैठकको वैधानिकता प्राप्त नहुने भन्दै उनले आफूलाई निष्काशन गरिएको भन्ने गठबन्धनको निर्णय आधिकारिक नभएर व्यक्तिगत निर्णय मात्र भएको विज्ञप्तिमार्फत जिकिर गरेका छन् ।

उनले विज्ञप्तिमा महन्थ ठाकुरका नामबाट आएको उक्त प्रेस विज्ञप्ति राजनीतिक झूठको खेतीका साथै राजनीतिक बेइमानी र निन्दनीय काम भएको पनि उल्लेख गरेका छन् ।

सङ्घीय गठबन्धनका सबै घटक कथित प्रेस विज्ञप्तिको भ्रममा नपरी परिस्थितिको मूल्याङ्कन र आगामी कार्यभारबारे निर्णय गर्न एकीकृत भई छलफलमा रहनका साथै पार्टी पङ्क्तिलाई पनि भ्रमको पर्दाफास गर्दै दृढतापूर्वक क्रियाशील रहन पनि उनले आह्वान गरेका छन् । (रासस)