मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका नेताहरुको बैठकमा संविधान संशोधन, प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव, बजेट र दोस्रो चरणको चुनाव लगायतका विषयमा प्याकेजमै सहमतिको प्रयास भएको हो ।
बैठकपछि नेताहरुले छलफल अत्यन्त सकारात्मक भएको भन्दै आफुहरु सहमति नजिक पुगेको वताएका छन् । मध्यमार्गीधारबाट सहमति खोज्न सबै दल तयार भएको नेताहरुले वताएका छन् ।
बैठकमा एमालेले दोस्रो चरणको चुनाव अगाडि सार्नुपर्ने र चुनावपछि मात्रै बजेट ल्याउनुपर्ने र राजपाले संविधान संशोधन प्रस्ताव पारित गरेर मात्र दोस्रो चरणको चुनाव गर्नुपर्ने अडान राखेका थिए ।
बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले छलफल सकारात्मक भएको तर कुरा मिल्न बाँकी रहेको बताए ।
उनले भाषामा परिमार्जन गरेर एमाले संविधान संसोधनमा सघाउन तयार रहेको तर चुनावपछि मात्र बजेट ल्याउनुपर्ने बताए ।
बैठकपछि राजपाका नेताहरुले भने जेठ ४ गते बस्तै संसद बैठकबाट संविधान संशोधन प्रस्ताव टुङ्गो लगाएर दोस्रो चरणको चुनावमा जानुपर्ने अडान राखेको नेता राजेन्द्र महतोले जानकारी दिए ।
यस्तै माओवादी केन्द्रका नेता दिनानाथ शर्माले मधेश केन्द्रीत दलहरुलाई पनि स्थानीय तहको चुनावमा सहभागी गराउने गरी सकारात्मक ढंगले छलफल अघि वढेको दाबी गरे ।
नेताहरुले छलफललाई निरन्तरता दिने र केही दिन भित्रै प्याकेजमै सहमति जुट्ने विश्वास ब्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्