
उनीहरुले मतदाता आकर्षित गर्न आफ्ना भावी योजना तथा कार्यक्रमहरु सामाजिक सन्जालमार्फत् प्रचार–प्रचार गरिरहेका छन् ।
अघिल्ला चुनावहरुमा गाउँगाउँ र टोलटोलमा गएर अन्तरक्रिया र चुनावीसभा गरी जनतालाई आफ्ना एजेन्डा बुझाउने गरेका दलहरुले योपालि भने सामाजिक सन्जाललाई चुनावी प्रचारको मुख्य माध्यम बनाएका छन् ।
सबैजसो राजनीतिक दल र तिनका उम्मेदवारहरुले सामाजिक सन्जालमार्फत् चुनावी प्रचार–प्रसारलाई तीव्र पारेका छन् । आफूले गरेका कामलाई सामाजिक सन्जालमार्फत् प्रचार–प्रसार गर्दै उम्मेदवारहरुले भोट मागिरहेका छन् ।
ठूला राजनीतिक दलका वेबसाइट पनि चुनावी नाराले रंगीचंगी बनेका छन् । दलहरुले आफ्नो इतिहासदेखि भावी योजनासम्म वेबसाइटमा राखेका छन् । उनीहरुले यसअघि गरेका राम्रा कामलाई बढी महत्व दिएका छन् ।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले लोकतन्त्र र राष्ट्रियताको संवाहक भएको भन्दै देशका विभिन्न कालखन्डमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
कांग्रेसले ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ भएको दाबी गर्दै मतदातासँग भोट मागिरहेको छ ।
कांग्रेसले आफ्ना लोकप्रिय युवा नेताहरुलाई फेसबुक पेजमार्फत् चुनावसम्बन्धी ‘लाइभ’ अन्तरक्रियासमेत गराइरहेको छ ।
संसदको दोस्रो ठूलो दल नेकपा एमालेले पनि सामाजिक सन्जाललाई भरपुर उपयोग गरिरहेको छ ।
उसले चुनावका लागि छुट्टै फेसबुक पेज बनाएर आफ्नो नेतृत्वको सरकार हुँदा गरेका कामको प्रचार गर्दै मत मागिरहेको छ ।
एमालेले पनि लोकप्रिय नेताहरुलाई फेसबुक पेजमार्फत् लाइभ अन्तरक्रिया गराइरहेको छ ।
तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि सामाजिक सन्जालमार्फत् चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएको छ । माओवादीले लोकतन्त्र, गणतन्त्रको उपलब्धि आफ्नो भएको भन्दै मतदातालाई आफूतर्फ आकर्षित गरेको छ ।
लोडसेडिङ अन्त्य गराएको, मुलुकको कुल गार्हथ्य उत्पादनमा उल्लेखनीय वृद्धि भएको विषयलाई आफ्नो सफलता ठानेको माओवादीले त्यसैलाई चुनावी नारा बनाएको छ ।
संघीयता एजेन्डा माओवादीकै भएको र संघीयता कार्यान्वयनसँगै गाउँगाउँमा सिंहदरबार पुगेको माओवादी केन्द्रले दाबी गर्दै ‘गफ गर्नेलाई सुनौं, काम गर्नेलाई चुनौं’ भन्दै मतदातासँग भोटको अपील गरेको छ ।
चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि हिन्दूराष्ट्रको नारालाई चुनावी हतियार बनाउँदै सामाजिक सन्जालमार्फत् मत मागिरहेको छ ।
राप्रपाले पनि पार्टीका शीर्ष नेताहरुमार्फत् फेसबुक लाइभमा चुनाबबारे लाइभ अन्तरक्रियालाई महत्व दिएको छ ।
सामाजिक सन्जालको उपयोग गर्न माहिर मानिएका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पनि स्थानीय तहको चुनाव प्रचारको माध्यम सामाजिक सन्जाललाई नै बनाएको छ ।
मुलुकलाई आर्थिक क्रान्तिमा लैजान नयाँ शक्ति पार्टीको जित हुनुपर्ने जिकिरसहित उसले मत मागिरहेको छ ।
थोरै नेता तथा कार्यकर्ता भएका साना दल र स्वतन्त्र उम्मेदवारले पनि घरदैलो कार्यक्रममाभन्दा सामाजिक सन्जालमा प्रचार तीव्र पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्