
मुलुकमा झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतपत्र बदर नहोस् भनेर आयोगले मतदाता शिक्षा अभियानमार्फत् मतपत्र र मतदान गर्ने तरिकाकाबारेमा सचेतना अभियान अघि बढाएको हो ।
स्थानीय तह निर्वाचनका लागि मतदातालाई निर्वाचन चिह्नबारे जानकारी दिन यही वैशाख २८ गतेदेखि ३० गतेसम्म ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयंसेवक परिचालन गरिने भएको छ ।
आगामी निर्वाचनमा ६ आकारका मतपत्र छन् । सबैभन्दा बढी ६८ लहर (चुनाव चिह्न) भएको काठमाडौंको मतपत्र तथा सबैभन्दा सानो थोरै दल भएको मनाङमा १८ लहर भएको मतपत्र छ ।
अन्य जिल्लामा ४४, ३६, २८ र २२ लहर भएको मतपत्र रहेको आयोगले जनाएको छ ।
यही वैशाख ३१ गते हुने निर्वाचनको मतदान गर्ने समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा पुगिसक्नुपर्छ । त्यस्तै, मतदाता परिचयपत्र साथमा लैजानुपर्छ ।
आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।
निर्वाचनका लागि अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाध्यक्ष, दुई खुला सदस्य, दुई महिला (एक दलितसहित) सदस्य गरी जम्मा सात पदका लागि मतदान गर्नुपर्ने आयुक्त इला शर्माले बताइन् ।
मतपत्रमा पहिलो लाइनमा अध्यक्ष वा प्रमुख, दोस्रो लाइनमा उपाध्यक्ष वा उपप्रमुख, तेस्रो लाइनमा वडाध्यक्ष, चौथो लाइनमा महिला सदस्य, पाँचौं लाइनमा दलित महिला सदस्य तथा छैटौं र सातौं लाइनमा दुई अन्य खुला वडासदस्यका लागि रहेको छ ।
मतपत्रको छैटौं र सातौं लाइनमा संसदमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारका लागि मतदातालाई उम्मेदवार पहिचान गर्न सहज होस् भनेर छैटौंमा एक चुनाव चिह्न र सातौंमा एकै दलका दुई चुनाव चिह्न राखिएको छ ।
खुला दुई वडासदस्यका बारेमा मतदातालाई पहिचान गर्न उम्मेदवारको वर्णानुक्रमानुसार पहिलोलाई एक चिह्न र दोस्रोलाई दुई चिह्नको व्यवस्था गरिएको आयोगले जनाएको छ ।
स्वतन्त्र उम्मेदवारका लागि भने सबै लाइनमा एकै चुनाव चिह्न राखिएको छ ।
आयुक्त शर्माले भनिन्–‘त्यहाँ रहेका दुई चुनाव चिह्नकाबारेमा कसैलाई पनि दुविधा नहोस्, त्यसमा पनि एकै स्वस्तिक चिह्न लगाउने हो, दुईपटक छाप लगाउने होइन । मतदाताले उम्मेदवारको चिह्न भएको कोठामा पर्ने गरी छाप लगाउनुपर्छ ।’
यसबारेमा उम्मेदवारले पनि मतदातालाई सिकाउनुपर्ने उनको धारणा छ ।
त्यस्तै, आयोगले स्वयंसेवक, विभिन्न आमसन्चार तथा अन्य माध्यममार्फत् निर्वाचन आचारसंहिता पालना गर्न र गराउन उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ ।
साम्प्रदायिक भावना फैलाउने गरी मत माग्न वा प्रचार–प्रसार गर्न वा गराउन, मतदातालाई नगद–जिन्सी वितरण गर्न, भोजभतेर आयोजना गर्न वा मादकपदार्थ सेवन वा वितरण गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ ।
त्यस्तै, महिला र अपांगता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचार–प्रसार गर्न वा गराउन नहुने तथा निर्वाचन प्रचार–प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने आयुक्त शर्माले बताइन् ।
सार्वजनिक आवागमनमा अवरोध हुने गरी हुने गरी कुनै किसिमको जुलुस, आमसभा, पदयात्रा, बैठक, भेला वा प्रचार–प्रसार गर्न वा गराउन नहुने, उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामका सम्बन्धमा मतसर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माकाअनुसार निर्वाचन प्रचार–प्रसारकाक्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी–साधनको र्याली गर्न वा गराउन हुँदैन र निर्वाचनको मौन अवधि (वैशाख २९–३०)मा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न पाइँदैन ।
मतदान गर्ने सहि तरिकाकाबारेमा निर्वाचन आयोगले तयार पारेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्