२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


पोखरा-लेखनाथ महानगरलाई कस्तो बनाउने ? यस्ता छन् चुनावी आश्वासन (भिडियो)


0
Shares

-प्रदिप पौडेल/ईमेज

चुनावी नारासहित मीठा-मीठा आश्वासन बाँड्दै उनीहरु जनताको घरदैलोमा पुगेका छन् ।

क्षेत्रफलको हिसावले मुलुककै सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिका र कास्कीका चार गाउँपालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका विभिन्न पार्टी तथा स्वतन्त्रका उम्मेदवार मत आफ्नो पक्षमा पार्न खटिएका छन् ।

निर्वाचनमा दलहरुले पनि आफ्नो प्रभाव, शक्ति र प्रतिष्ठा जोडेर चुनावी माहोल तताएका छन् ।

पर्यटकीय नगरी पोखराहोस् वा कास्कीका अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रुपा गाउँपालिकामा दिनहुँ प्रत्येक टोलटोलमा बिहानै उम्मेदवारसँगै चुनाव चिन्ह, पार्टीका झन्डा, माइकिङ, पर्चासहितको घरदैलो र सभाले गाउँशहर चुनावमय बनेको हो ।

उम्मेदवारका आकांक्षीले स्मार्ट सिटी, फ्रि वाइफाइ, उज्यालो अभियान, मोनोरेल सम्मको सपना बाँडेका छन् ।उनीहरुले महानगरमा थप विकाससहित संसारकै नमूना महानगर बनाउने चुनावी प्रतिवद्धता मतदातासमक्ष गरेका छन् ।

महानगरका उम्मेदवारहरुमध्ये अधिकांशले स्मार्ट सिटीसहित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दबाब दिनेसहित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण, व्यवस्थित बसपार्क, फराकिला र चौडा सडक, बेरोजगारी अन्त्य, पानी, आकाशेपुल, पर्यटन, शिक्षा, कृषि उद्योगमा जोड दिने बताउँदै मत मागिरहेका छन् ।

नेपाली काँग्रेसबाट पोखरा लेखनाथ महानगरपालिका प्रमुख पदका उम्मेदवार रामजी कुँवर आफ्नो चुनावी एजेण्डा नै महानगरलाई समृद्ध बनाउने भएको बताउँछन् ।

एमालेबाट महानगर प्रमुखका प्रत्यासी मानबहादुर जिसी पनि पोखरालाई पर्यटकको अन्तर्राष्ट्रिय गन्तव्यस्थल बनाउनेसहितका योजनासहित चुनावी प्रतिस्पर्धामा आफू होमिएको बताए ।

वैशाख ३१ गते हुने निर्वाचनमा जिल्लाका १ हजार ५ सय २० जना उम्मेदवार चुनावी मैदान ओर्लिएका छन् ।

प्रदेस नम्बर ४ को संभावित राजधानी मानिएको पोखरा लेखनाथमा मेयर/उपमेयर को बन्ला भन्नेमा सबैको चासोको विषय छ ।

निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।

महानगर प्रमुखका लागि काँग्रेस र एमाले नै एकअर्कालाई प्रतिष्पर्धी मान्दा एमाले पनि जिल्लाको चौथो ठूलो दल राप्रपासँग चुनावी तालमेलको तयारीमा छ ।

राप्रपाबाट मेयरमा रमेशबहादुर खत्री र उपमेयरमा गीता गुरुङ चुनावी दौडमा छन् । महानगरमा प्रमुखका लागि १७ र उपमेयरका लागि ११ जना उम्मेदवार छन् भने ३३ वडाध्यक्षका लागि १ सय ९६ चुनावी मैदानमा छन् ।