२६ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025


स्याङ्जामा ५०७ जनप्रतिनिधिका लागि १४ सय ८९ जनाबीच प्रतिस्पर्धा


0
Shares

उम्मेदवारहरु जनताका घर–घरमा पुगेर भोट माग्न थालेपछि स्थानीय तहमा चुनावी सरगरर्मी निकै बढेको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारले घरदैलो, चुनावीसभाजस्ता कार्यक्रमलाई प्राथमिकता दिएका हुन् ।

निर्वाचनलाई पूर्णरुपले भयरहित, निष्पक्ष र शान्त वातावरणमा सम्पन्न गर्नका लागि स्याङ्जामा जनपथ प्रहरी, शसस्त्र प्रहरी र सेनालाई परिचालनसमेत गरिएको छ ।

जिल्लामा दर्ता भएका १९ ओटा दलमध्ये अधिकांश स्थानीय तहमा ५ देखि ६ दलमात्र सहभागी छन् । केही स्थानीय तहमा स्वतन्त्र उमेदवारीसमेत परेको निर्वाचन कार्यालयले जनाएको छ ।

स्याङ्जामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार केदार काफ्लेले जिल्लाको विकासमा कांग्रेसको भूमिका उल्लेखनीय भएकाले यसपटकको निर्वाचनमा पनि आफ्नो पार्टीको जित सुनिश्चित भएको बताए ।

एमाले पनि आफूहरुले उठाउँदै आएका एजेन्डामा जनताले विश्वास गरेकाले स्थानीय तहमा जित हासिल गर्नेमा ढुक्क देखिएको छ ।

एमालेका स्थानीय नेता लक्ष्मीपति पौडेलले आफूहरु एजेन्डासहित मतदाताको घर–घरमा पुगिसकेको बताए ।

माओवादी केन्द्रका कार्यकर्ता सूर्य डुम्रे भने सिंहदरबारको अधिकार गाउँतहसम्म ल्याउन आफ्नो पार्टी सफल भएकाले निर्वाचनमा पनि जित हासिल गर्ने बताउँछन् ।

११ ओटा स्थानीय तह रहेको स्याङ्जामा १ लाख ९१ हजार २ सय ५३ मतदाता छन् ।

५०७ जनप्रतिनिधिका लागि १४ सय ८९ जनाले उम्मेदवारी दिएका छन् ।