
आयोगले बुधबार दलका शीर्ष नेताहरुलाई आफ्नो कार्यालयमा बोलाएर प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको हो ।
नेताहरुले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्ने प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनकाक्रममा दोलखामा एमाले कार्यकर्ताको हत्या भएको घटना दुखद् भएको टिप्पणी गरे ।
उनले कुनैपनि प्रकारका अप्रिय घटना हुन नदिन सरकार गम्भीर रहेको बताए ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका सबै संयन्त्र तदारुकतासाथ लागि परेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दोलखामा एमाले कार्यकर्ताको हत्या हुनुले सरकार मतदाताको सुरक्षाप्रति गम्भीर छैन भन्ने देखिएको बताए । उनले दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।
यस्तै, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ताको आडमा माओवादी केन्द्रका कार्यकर्ताहरु आक्रमणमा उत्रिएको भन्दै निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ भन्नेमा गम्भीर आशंका उत्पन्न भएको बताए ।
सरकारले आचारसंहिताविपरीत चुनावलाई प्रभावित गर्ने गरी निर्णय गर्ने गरेको उनको आरोप थियो ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बिहीबार राति १२ बजेदेखि ‘मौनअवधि’ सुरु हुने भएकाले राजनीतिक दलका कार्यकर्ता र उम्मेदवारहरुलाई संयमित भएर प्रस्तुत् हुन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्