Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


बिहीबार राति १२ बजेपछि उम्मेदवारको प्रचार–प्रसार गर्न नपाउने


0
Shares

निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै मौनअवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचार–प्रसार गर्न/गराउन निषेध गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौनअवधिमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६० को (१)मा मौनअवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित् क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।’

सोही निर्देशिकाको दफा ७० को उपदफा (१)मा मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउने वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचार–प्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ । रासस