
-कपिलदेव खनाल/ ईमेज
हरेक निर्वाचनमा फरक फरक परिणम आउने गरेको नुवाकोट जिल्लाको मत परिणाम आफ्नो पक्षमा पार्नका लागि राजनीतिक दलहरु घरदैलो अभियानमा लागेका छन् ।
दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक आपसमा प्रतिस्पर्धीको रुपमा देखिएको छ ।
नयाँ संरचना भएको र हरेक निर्वाचनमा फरक पार्टीको लहर आउने गरेकाले पनि नुवाकोटमा कुन दलको पल्ला भारी हुन्छ भन्ने अनुमान गर्न नसकिएको मतदाता बताउँछन् ।
स्थानीय तह निर्वाचनमा हजुरबुवादेखि नातीको पुस्तासम्म उम्मेदवार बनेको देखिएको छ ।
गाउँपालिका देखि नगरपालिकासम्म केन्द्रित रहेको दलहरुको चुनावी प्रचार अभियान चुनाव नजिकिँदै जाँदा तिब्र बनेको छ ।
नुवाकोटमा कुनै गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमाले र कुनै गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा रहने अनुमान गरिएको छ ।
मतदातासम्म पुग्ने उम्मेदवार र राजनीतिक दलका नेताहरुको शैली भने भड्किलो बन्दै गएको छ ।
तुलनात्मक रुपमा अघिल्लो निर्वाचन भन्दा यो निर्वाचनमा यातायातका साधन बढी प्रयोग गरिएको छ ।
पर्चा पम्पेलटको सट्टामा आफ्नो चुनावी घोषणा पत्रलाई अडियो रेकर्ड गराएर साउण्ड सिस्टम मार्फत् मतदातालाई उम्मेदवारहरुले जानकारी गराउने लहर बनेको छ ।
लामो समय पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदातादेखि उम्मेदवारसम्म उत्साही देखिए पनि दिनहुँ जस्तो पर्ने पानीका करण भने चुनावी माहोल विग्रने गरेको छ ।
राप्रपाबाट विभाजन भएर भर्खरै गठन भएको एकीकृत राप्रपाले भने चुनाव चिन्न नपाएप्छि आफ्ना उम्मेदवारहरुलाई स्वतन्त्र रुपमा उठाएको छ ।
दुई नगरपालिका र १० गाउंपालिका रहेको नुवाकोटमा १ लाख ८१ हजार ४ सय ८५ मतदाता छन् ।
जिल्लामा कुल ४ सय ६४ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लामा २ सय ४० मतदान केन्द्र तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्