
-कविराज घिमिरे/ ईमेज
दोस्रो चरणअन्तर्गत जेठ ३१ गते चुनाव हुने जिल्ला सुनसान बनेका हुन् । त्यसमध्येको एक हो पूर्वी पहाडी जिल्ला धनकुटा । निर्वाचनको मिति जेठ ३१ गते धकेलिए संगै धनकुटामा चुनावी चहलपहल रोकिएको छ ।
निर्वाचन कार्यालय र जिल्लास्थित राजनीतिक दलहरुले अहिले कुनै पनि चुनावी गतिबिधि गरेका छैनन् ।
निर्वाचनलाई लक्षित गरी सुरु गरेको मतदाता शिक्षा, निर्वाचन कार्यालय स्थापना, कर्मचारी परिचालनलगायतका सम्पूर्ण कार्यहरु रोकिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सुचना अधिकारी केशव पौडेल बताउँछन् ।
प्रदेश नम्बर तीन, चार र छ का ३४ जिल्लामा चुनावी चहलपहल उत्कर्षमा पुगिरहँदा धनकुटासहित चार प्रदेशका ४१ जिल्लामा निर्बाचन सर्दा चुनावी चहलपहल सुस्ताएको हो ।
चुनावका लागि आफ्ना उमेद्वार छनौट अन्तिम चरणमा पु¥याइसकेका राजनीतिक दलहरुले त्यसलाई समेत रोकेका छन् ।
निर्वाचनका लागि भित्रि तयारी गरिरहे पनि पहिलो चरणको निर्वाचन सकिने बितिकै आफ्ना कार्यहरुलाई पुनः सुचारु गरी चुनावी अभियान तिब्र पारिने नेपाली कांग्रस धनकुटाका सचिव बिजय सन्तोषी राई बताउँछन् ।
यो एक महिनाको सयममा माओवादी केन्द्रले पार्टीको आधार बलियो बनाउने अवसरको रुपमा लिएको जनाएको छ ।
जेठको पहिलो साताबाटै आफ्नो अभियानलाई तिब्रता दिई चुनाबी अभियानमा उत्रने माओवादी केन्द्रका धनकुटा सह ईन्चार्ज उज्बल किराँती बताउँछन् ।
एमाले धनकुटाका प्रचारप्रसार संयोजक नैन बिश्वकर्माले भने आफ्नो तयारीलाई भित्रि रुपमै ब्यापक बनाएको बताउँछन् ।
चुनावी प्रचारप्रसार बाहिर नदेखिए पनि धनकुटामा दर्ता भएका १७ राजनीतिक दलले भित्रभित्रै भने तयारीलाई ब्यापक वनाएको जनाएका छन् ।
जे होस सुनसान देखिएको यो समयलाई राजनीतिक दलहरुले अवसरको रुपमा लिएर जेठ ३१ गते हुने चुनावको लागि तयार हुनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्