
कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले साझा बसमा निर्वाचन आयोगको लोगोअंकित झन्डा फहराएर बिहीबार साझा यातायातमार्फत् निर्वाचनको सन्देश प्रचार–प्रसारको शुभारम्भ गरे ।
साझा बसका २३ ओटा गाडीमा यस्ता स्टिकर टाँसिएको निर्वाचन आयोगले जनाएको छ ।
गाडीमा टाँसिएका स्टिकरले मतदातालाई आफ्नो अमूल्य मतको महत्व झल्काउनुका साथै मतदानका लागि प्रेरित गर्ने विश्वास गरिएको छ । पछिल्लो समय यात्रीमाझ साझा बस लोकप्रिय बन्दै गएको छ ।
कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख आयुक्त डा. यादवले पहिलो चरणको निर्वाचनमा खटिएका कर्मचारी आजबाट सबै मतदान केन्द्रमा पुगिसकेको जानकारी दिए ।
प्रदेश नम्बर–३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहका ६ हजार ६४२ मतदान केन्द्रमा मतदान अधिकृतको टोलीले बिहीबारदेखि शनिबारसम्म मतदाताको परिचयपत्र वितरण गर्ने उनले जानकारी दिए ।
पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता कायम भएको हुँदा निर्वाचन अधिकतले स्थानीयस्तरमा राजनीतिक दलसँग समन्वय गरी मतदानस्थल र मतदान केन्द्रको निर्माणको कार्य पनि सुरु गरिसकेको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्