२६ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025


भरतपुरमा धेरैको ध्यान, यस्तो छ मेयरका प्रत्यासीहरुको प्रतिबद्धता


0
Shares

भरतपुर महानगरपालिकामा त झन् ठूला दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नै चुनावी तालमेलमा उत्रिएपछि चितवनबासीमात्र होइन, अरु जिल्लामासमेत यहाँको चुनावी जोड–घटाऊको चर्चा हुने गरेको छ ।

चितवनका राजनीतिक दलहरु चुनावी परिणामलाई आफ्नो पक्षमा ल्याउन निकै जोडबलका साथ प्रचार–प्रसारमा लागेका छन् ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनको दिन नजिकिँदै गर्दा देशकै मध्यभागमा अवस्थित चितवनमा सबैको ध्यानकेन्द्रित भएको छ ।

भरतपुर महानगरपालिकासहित सातओटा स्थानीय तह रहेको चितवनका सबै दलका उम्मेदवार प्रचार–प्रसारमा सक्रिय छन् । निर्वाचन प्रचारको अन्तिमसमयसम्म उम्मेदवारहरु मत माग्दै घरदैलोमा पुगेका छन् ।

भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएपछि संयुक्तरुपमा मेयरकी उम्मेदवार रेणु दाहाल र उपमेयरकी उम्मेदवार पार्वती शाह घरदैलोमा व्यस्त छन् ।

उनीहरुले भरतपुर महानगरलाई समृद्ध बनाउने भन्दै विभिन्न आश्वासन बाँडेका छन् ।

नारायणी नदीमा तटबन्धन निर्माण गरी पार्क निर्माणदेखि अन्तर्राष्ट्रिय विमानस्थल र ‘स्मार्ट सिटी’ बनाउने भन्दै आश्वासन बाँडिरहेका छन् ।

कांग्रेस र माओवादी केन्द्रबाट मेयर पदकी संयुक्त उम्मेदवार रेणु दाहालले देशकै मध्यभागमा अवस्थित भरतपुर प्रचुर सम्भावना भएको महानगरलाई स्मार्ट सिटीकोरुपमा विकास गरी नमुना महानगर बनाउने नै आफ्नो प्रमुख एजेन्डा भएको बताउँछिन् ।

भरतपुरका नेकपा एमालेबाट मेयर उम्मेदवार देवी ज्ञवालीले भरतपुरलाई दक्षिण एसियाकै उच्चतम् सुन्दर र वातावरणयुक्त महानगर बनाउनु आफ्नो प्रमुख एजेन्डा भएको बताए ।

राप्रपाबाट महानगरको मेयरमा उम्मेदवारी दिएका बद्रि तिमिल्सिनाले पनि महानगरपालिकालाई देशका अरु तीन महानगरभन्दा विकसित, नमुनायोग्य र अब्बल बनाउने आफ्नो योजनासहित चुनावी प्रचारमा लागेको बताए ।

भरतपुर महानगरपालिकामा कुल १ लाख ५० हजार २ सय ७४ मतदाता छन् । महानगरको मेयरका लागि १३ जना र उपमेयरमा ११ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

चितवनमा सातओटा स्थानीय तहमा कुल ५०४ पदका लागि एक हजारभन्दा बढी उम्मेदवार मैदानमा उत्रिएका छन् ।