२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


निर्वाचन आयोगको अपिल–‘ढुक्क भएर मतदान गर्नोस्’


0
Shares

निर्वाचन आयोगको मिडिया सेन्टरमा शनिबार आयोजित विशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबार हुने स्थानीय तहको निर्वाचनको भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भने–‘तीनओटा प्रदेशका ३४ जिल्ला मातहत २८३ स्थानीय तहका ६ हजार ६४२ मतदान केन्द्रमा मतदान सामग्रीसहित मतदान अधिकृत र सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदानका लागि आवश्यक तयारी पूरा गरिसक्नुभएको छ ।’

राजनीतिक प्रणाली परिवर्तनका लागि मुलुकमा विभिन्न समयमा भएका आन्दोलनको सबैभन्दा ठूलो उपलब्धिकारुपमा आफ्नै घरदैलोमा स्थानीय सरकार गठनका लागि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म पहिलोपटक स्थानीय तहको निर्वाचन हुँदैछ ।

उक्त निर्वाचनबाट १८६ गाउँपालिकाका अध्यक्ष, १८६ उपाध्यक्ष, ९७ नगरपालिकाका प्रमुख, ९७ उपप्रमुख र दुई हजार ५९८ वडाध्यक्ष, दुई हजार ५९८ वडासदस्य, दुई हजार ५९८ महिला वडासदस्य र दुई हजार ५९८ दलित महिला वडासदस्य, दुई पद वडासदस्यका लागि पाँच हजार १५६ सहित १३ हजार ५५६ समावेशी जनप्रतिनिधिको चयन हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने–‘सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले मतदानमा ढुक्क भएर सहभागी भइ आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न निर्वाचन आयोगका तर्फबाट सबै मतदाता महानुभावसँग हार्दिक अपिल गर्दछु ।’

मुलुकमा १५ वर्षदेखि कर्मचारीले सन्चालन गर्दै आएको स्थानीय तहको नेतृत्व यो निर्वाचनबाट जनप्रतिनिधिमा हस्तान्तरण हुने भएकाले पनि मतदाताहरू यसपटकको निर्वाचनप्रति धेरै नै उत्सुक देखिएका छन् ।

‘जनप्रतिनिधिहरूले लेखेको संविधान कार्यान्वयन गर्नेक्रममा मतदानमा सहभागी हुँदैछौं, मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको यो पहिलो स्थानीय तहको निर्वाचनले जनताको सुख–दुःख हेर्ने घरछेउको सरकारको नेतृत्व गर्ने जनप्रतिनिधिहरू निर्वाचित गर्नेछ’–प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने ।

आइतबारको निर्वाचनमा ४९ हजार ३३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार छन्, जसमा ९ हजार ८३ महिला वडासदस्य र सात हजार ५२६ दलित महिला वडासदस्यको उम्मेदवारी छ ।

उत्साहका साथ मतदानको प्रतीक्षामा रहेका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र नपाएको भए नागरिकताको प्रमाणपत्र देखाएर पनि मतदान गर्नसक्ने व्यवस्था गरिएकाले त्यसको सदुपयोग गरी मतदानमा सरिक हुनपनि आयोगले मतदातालाई आग्रह गरेको छ ।

जुन मतदान केन्द्रमा मतदाता नामावलीमा नाम छ, त्यही केन्द्रमा गएर मतदान गर्न तथा नाम ढाँटेर अर्काको नाममा मतदान नगर्न पनि मतदातालाई सचेत गराउँदै आयोगले यो निर्वाचनको अनुगमन गर्न केन्द्रदेखि स्थानीय तहसम्म सूक्ष्म ढंगले विभिन्न तहको अनुगमन टोली र ४९ ओटा संस्थाका पर्यवेक्षक खटाएको जनाएको छ ।

अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामीलाई मतदानमा प्राथमिकता दिन पनि आयोगले सुझाव दिएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मतसंकेत गर्न नसकेमा एकाघरको परिवारको सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेतत गर्ने व्यवस्था आयोगले मिलाएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९२५ मतदाता मतदान गर्दैछन् ।

निर्वाचनमा राष्ट्रिय पर्यवेक्षण गर्ने ४९ संस्थाका पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्नेछन् भने आयोगले केन्द्रदेखि जिल्ला तहसम्म अनुगमन र सूक्ष्म अनुगमनकोसमेत व्यवस्था मिलाएको छ ।

आचारसंहिता पालना गर्नोस्
आचारसंहिताको पूर्ण पालना गर्दै मतदातालाई मताधिकारको प्रयोग गर्ने सहज वातावरण निर्माणका लागि सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, आमसन्चार माध्यम र निर्वाचनसँग सरोकार राख्ने सबैसँग अनुरोध गर्दै आयोगले मौनअवधिको महत्व र निर्वाचनको संवेदनशीलतालाई सबैले मनन पनि ध्यानाकर्षण गराएको छ ।

निर्वाचन कार्यक्षेत्रमा खटिएका राष्ट्रसेवकको मेहनतले आयोगको मर्यादालाई उच्च बनाएको जनाउँदै आयोगले लोकतन्त्रको जगलाई गाउँ, सहर र बस्तीबाटै सुदृढ बनाउने कार्यमा सबैबाट सहयोग हुने विश्वास व्यक्त गरेको छ ।

आयोगले भनेको छ–‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन आयोग दृढ छ । तपाइँको मत अमूल्य छ । खर्बपति र गरिबको मत समान छ । तसर्थ कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्य मतदान गर्नुहोस् ।’ रासस