२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


तीन वटा प्रदेशका २ सय ८३ स्थानीय तहमा निर्वाचन सुरु


0
Shares

बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म हुने छ । पहिलो चरणमा निर्वाचित हुने तीन वटा प्रदेशका १३ हजार ५ सय ५६ पदका निर्वाचन सुरु भएको हो ।

प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा मतदान भइरहेको छ । यस पटक चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकामा नेतृत्व चुनिने छ ।

यसैगरी २ हजार ५९८ वडामा पनि निर्वाचित प्रतिनिधि चुनिने छन् । नगर प्रमुख र उपप्रमुखमा ९७, गाउँपालिका प्रमुख÷उपप्रमुख १८६ जना चुनिने छन् ।

यसैगरी महिला सदस्य २ हजार ५९८, दलित महिला सदस्य २ हजार ५९८ र दुई जना वडा सदस्य ५१९६ जना चुनिने छन् ।

१३ हजार ५५६ जना जनप्रतिनिधि चुन्न पहिलो चरणमा तीन वटा प्रदेशका ४९ लाख ५६ हजार ९२५ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । यसका लागि ६ हजार ६४२ मतदान केन्द्र तोकिएको छ । ३२९ जना भने निर्विरोध चुनिसकेका छन् ।

निर्वाचन आयोगले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले सरकारी निकायवाट जारी गरिएको परिचयपत्रका आधारमा मतदान गर्न सक्ने जनाएको छ ।

पहिलो चरणको निर्वाचनको तयारी बारे जानकारी दिन आयोगले हिजो गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले वैशाख ३० गतेसम्म मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले कुनै पनि सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको परिचयपत्रका आधारमा मतदान गर्न सक्ने जानकारी दिए ।

मतदाता नामावलीमा नाम समावेश भएकाहरुले नागरिकताको प्रमाणपत्र वा २०७० सालको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदाताको सुरक्षाको पूर्ण प्रत्याभुति हुने भन्दै ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई अपील गरे ।

आयोगले निर्वाचनलाई स्वच्छ र निश्पक्ष ढंगले सम्पन्न गर्न सहयोगका लागि सबैलाई आग्रह गरेको छ ।