
दलका कार्यकर्ताबीच झडप भएपछि केही स्थानमा निर्वाचन स्थगित भएको छ । रामेछापको दोरम्बा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
स्थानीय तहको निर्वाचन सुरु भएलगत्तै दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।
झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्नुका साथै एक राउन्ड हवाई फायर गरेको छ । अहिले त्यहाँको निर्वाचन रोकिएको छ ।
त्यसैगरी दोलखाको बिगु गाउँपालिकाको आलम्पु मतदान केन्द्रमा पनि नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । आलम्पु मतदान केन्द्रको मतदान पनि अहिले स्थगित गरिएको छ ।
दोलखाकै तामाकोसी गाउँपालिकाको झुलेमा नेपाली कांग्रेसका कार्यकर्ता अच्युत कार्कीमाथि खुकुरी प्रहार भएको छ । एमालेका कार्यकर्ताले खुकुरी प्रहार गरेको कांग्रेसले आरोप लगाएको छ ।
यस्तै हुम्लाको खर्पुनाथ गाउँपालिका वडा नम्बर ५ को मन्धारा मावि मतदान केन्द्रमा अज्ञात समूहले ढुंगामुढा गरेको छ ।
मतदाताहरु लाइनमा लागिरहेका बेला अज्ञात व्यक्तिहरुले ढुंगामुढा गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रमुख विजयनाथ कायस्थले जानकारी दिएका छन् ।
यता मुगुको बाजुराको सरस्वती निमावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउण्ड हवाइ फायर गरेको छ । त्यहाँ अहिले स्थिति सामान्य अवस्थामा आइसकेको छ र मतदान सुचारु रहेको प्रहरीले जनाएको छ ।
यस्तै दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ५ डोक्रा मतदान स्थलमा पनि नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा नेपाली कांग्रेसका एक र माओवादी केन्द्रका एक कार्यकर्ता सामान्य घाइते भएका छन् । अहिले सुरक्षा समिति र निर्वाचन अधिकृतसहितको बैठक बसिरहेको छ ।
उता डोल्पाको सहातारा मतदान केन्द्रमा नेपाली कांग्रेसका प्रतिनिधिहरुले मतदान केन्द्र छाडेर हिँडेका छन् ।
सदरमुकामबाट करिव ३ घण्टाको दुरीमा रहेको मतदान केन्द्रमा कांग्रेसका प्रतिनिधिहरुले मतदान केन्द्र छाडेपछि मतदान स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्