
-अक्कल कुँवर/लक्ष्मणमान डंगोल(ईमेज)
काठमाडौं महानगरपालिका वडा नम्बर २ मा रहेको सांस्कृतिक एकता मञ्च मतदान केन्द्रमा पुगेर एक जना १ सय १ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।
१ सय १ वर्षिया विष्णुकुमारी राजवाहकले स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपािलका वडा नम्बर २ लाजिम्पाट नर्सरी मार्गस्थित सांस्कृतिक एकता मञ्च मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।
उनी हिँडडुल गर्न सक्दिनन् । त्यसैले उनलाई स्थानीय निर्वाचन स्वयम् सेवकहरुले गाडीको व्यवस्था गरी मतदान स्थलमा ल्याएका थिए ।
राजवाहकलाई दुईजना सहयोगीले मतदान गर्न सहयोग गरेका थिए । स्थानीय प्रतिनिधि चुन्न भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न आउनुभएका राजवाहक निकै उत्साही देखिएकी थिइन् ।
निर्वाचन आयोगले गरेको व्यवस्था अनुसार उनले बृद्धबृद्धा लाइनबाट गएर प्रक्रिया अनुसार मतदान गरे । मतदान गरेर बाहिरिएपछि बृद्धा राजवाहकले मतदान गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।
त्यसो त यसअघिका निर्वाचनहरुमा पनि विष्णुकुमारी राजवाहकले मतदान गरेकी रहिछन् तर, अहिलेसम्म कति पटक मतदान गरिन, ठाक्कै सम्झना भने छैन ।
१९७३ साल माघ ४ गते जन्मिएकी राजवाहको मतदाता नम्बर १८४९५२७८ रहेको छ ।
यस्तै, ८१ वर्षिय गजेन्द्रराज जोशीले पनि काठमाडौं महानगरपालिका वडा नम्बर १० यट्खा मतदान केन्द्रबाट मतदान गरेका छन् ।
ह्वील चेयरको सहारमा मतदान केन्द्र पुग्नु भएका जोशीले अशक्त तथा बृद्धको लाईनबाट मतदान गरेका छन् ।
जोशी काठमाडौ महानगरपालिकाको मेयरका उम्मेद्वार राजुराज जोशीका बुवा हुन् ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा काठमाडौ र काठमाडौ बाहिर पनि जेष्ठ नागरिकहरुले उस्साहका साथ मतदान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्