२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


निर्बाचनको अनुगमन गर्न ८ हजारभन्दा बढी पर्यवेक्षक खटिए


0
Shares

विज्ञापनमार्फत छानिएका ४९ संघसंस्थाका ८ हजार १४९ पर्यवेक्षक उपत्यकासहितका ३४ जिल्लामा खटिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले दुई चरणको निर्वाचनमा करिब ४९ हजार ९ सय ४७ पर्यवेक्षकले पर्यवेक्षण गर्ने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आयोगले एउटा संस्थाबाट खटिने पर्यवेक्षकहरू एउटा जिल्लामा भन्दा पनि सबै प्रदेशका हिमाल, पहाड र तराईका करिब सय मतदान केन्द्रमा पुग्नुपर्ने निर्देशन गरिएको बताए ।

उनले पर्यवेक्षकले कसरी आफ्नो काम गर्ने भन्ने सीमा तोकिएकाले कुनै संस्थाका पर्यवेक्षकले कुनै पार्टीको प्रचार गरेको वा कुनै उम्मेदवारलाई भोट हाल्न मतदातालाई प्रलोभनमा पारेको पाइएमा कारबाही गर्ने चेतावनी दिए ।

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन पर्यवेक्षणका लागि १२ बुँदे काम कर्तव्य बनाएको छ ।

आचारसंहितामा मतदानसँग सरोकार राख्ने सम्बद्ध पक्षसँग निर्वाचनसम्बन्धी विषयमा स्वतन्त्रतापूर्वक संवाद गर्ने, पर्यवेक्षण आचारसंहिताअन्तर्गत रही निर्वाचनसम्बन्धी विषयमा स्पष्ट हुने ब्यवस्था छ ।

त्यस्तै आयोग वा मातहतका अधिकारीहरूबाट जारी गरिएको अधिकार क्षेत्रसम्बन्धी जानकारी लिने, निर्वाचन प्रचार अभियान, मतदाताको निर्वाध आवतजावत, संवेदनशील निर्वाचन सामग्रीहरू (मतपेटिका, मतपत्र आदि) को ओसारपसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणाम र सञ्चारमाध्यममा पहुँच आदि कुराको पर्यवेक्षण गर्नुपर्नेछ ।

निर्वाचनसम्बन्धी प्रक्रियाको विभिन्न चरणमा तोकिएअनुसार राजनीतिक दलहरूको सहभागिता रहे÷नरहेको विषयमा जानकारी लिनुपर्ने कुरा उल्लेख गरिएको छ ।

पर्यवेक्षक संस्थाले मतदान कार्य पूरा भएको १५ दिनभित्र प्रारम्भिक प्रतिवेदन र ३० दिनभित्र अन्तिम प्रतिवेदन अनिवार्य रुपमा आयोगमा बुझाउनु पर्नेछ ।