
तस्विर सौजन्य: मातृका दाहाल
ललितपुर महानगरपालिकाको मतगणना आइतबार रातिबाटै सुरु भएको हो । अहिले त्यहाँ मतगणना जारी रहेको छ भने मतगणनास्थल बाहिर राजनीतिक दलका नेता तथा कार्यकर्ताको भीड लागेको छ ।
ललितपुरकै महालक्ष्मी नगरपालिका, महाँकाल र कन्ज्योसोम गाउँपालिकामा मतगणना सुरु भएको छ । काठमाडौंको शंखरापुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली र कीर्तिपुरमा पनि मतगणना भइरहेको छ ।
मनाङको चामे र नाशोङ गाउँपालिका तथा रुकुमको मुसिकोट नगरपालिका, बाँफिकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।
नवलपरासीको कावासोती, देवचुली, मध्यविन्दु र गैंडाकोट तथा काभ्रेको वनेपा नगरपालिकामा पनि मतगणना जारी छ ।
सल्यानको शारदा नगरपालिकामा पनि मतगणना भइरहेको छ भने नुवाकोटको बिदूर नगरपालिकामा पनि मतगणना जारी छ । जुम्लाको चन्दनाथ नगरपालिकामा पनि मतगणना जारी छ ।
सबैभन्दा चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना भने आज मात्र हुने भएको छ ।
त्यस्तै भक्तपुरका चारवटै नगरपालिकामा आज बिहानदेखि मतगणना हुने भएको छ ।
चितवनको कालिका नगरपालिका बाहेक अरु ठाउँमा आजबाट मतगणना गरिने भएको छ ।
मतगणना भइरहेका अधिकांश स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ ।
केहीमा कांग्रेसका उम्मेदवार अघि छन् भने केहीमा एमालेका उम्मेदवार अघि देखिएका छन् । अधिकांश स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्