
मुख्य निर्वाचन अधिकृतको कार्यालय र दलहरुकाबीचमा मतगणनाकाक्रममा अपनाइने आचारसंहिताका विषयको विवाद टुंगिएपछि मतगणना सुरु गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले मतपेटिकामा भएको मतको संख्याको आधार मान्य हुने जनाएको भएपनि दलहरुले मतदानस्थलमा गरिएको मुचुल्काको संख्याअनुसार हुनुपर्ने अडान राखेपछि मतगणनामा ढिलाइ भएको थियो ।
निर्वाचन आयोगको प्रचलित ऐन–कानुन र विधि–विधानअनुसार मतगणना गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो । गणना १ नम्बर वडाबाट सुरु गरिएको छ ।
भरतपुर महानगरपालिकामा एक लाख ५० हजार २ सय ७४ मतदाता रहेकामा ७५ दशमलव ०२ प्रतिशत मत खसेको जनाइएको छ ।
यसअनुसार १ लाख १२ हजार ७ सय ४१ मत हुन आउँछ ।
महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट संयुक्तरुपमा प्रमुख पदमा रेणु दाहाल र नेकपा एमालेका तर्फबाट देवीप्रसाद ज्ञवालीको उम्मेदवारी परेको छ ।
भरतपुरको कभर्डहलमा मतगणना थालिएको हो ।
भरतपुर महानगरपालिकामा २ लाख ८० हजार पाँच सय २ जनसंख्या रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्